जनार्दनलाई प्रचण्डको जवाफ- कति सिँगौरी खेल्न मन छ खेल्नुस् !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म पार्टीको नेतृत्व नछाड्नुको कारण खुलाउनुभएको छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘३६ वर्षसम्म के गर्यो ?’ भन्नेहरुलाई जवाफ दिनुभयो । नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहे पनि जिम्मेवारी सम्हाल्नेगरी कोही नेता योग्य बनिनसकेको प्रचण्डको भनाइ छ ।
‘३६ वर्ष के गर्यो भन्नेहरुलाई मेरो जवाफ छ, माओवादी धारलाई ०४८ सालमा मा एकताबद्ध गर्यो, ०५२ सालमा विद्रोह गर्यो, ०६३ सालमा शान्ति वार्तामा हस्ताक्षर गर्यो’, उहाँले भन्नुभयो, ‘शान्ति र विद्रोहको नेतृत्व गर्न सबै नेताले सक्छन् त ? वामपन्थी सबै एक हौँ भनेकै हो, कसका कारण एकता भएन सबैलाई थाहा नै छ !’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले राती सुत्ने बेलामा नेतृत्व छाड्ने ख्याल आउने पनि बताउनुभयो । तर, आफूले नेतृत्व छाडेपछि पार्टी झन् बर्बाद हुने कुराले झस्काउने गरेको उहाँको भनाइ छ ।
‘मैले धेरै पटक आत्मसमीक्षा गरेको छु, एकथरी मान्छेलाई छटपटी भएको छ, ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्’, प्रचण्डले थप्नुभयो, ‘राती सुत्नेबेला म यसो सोच्छु, अब नेतृत्व छाडिदिउँ कि क्या हो ! फेरि एक मनले सोच्छु, मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि जस्तो लाग्छ ।’
विभिन्न पार्टीभित्र नेतृत्वको बहस चलिरहेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ दिनुभएको छ । आफू फरक मतको विरोधी नरहेको बताउँदै उहाँले शर्मा सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गर्नुभयो ।
स्कुल अफ माक्सिज्मले हिजो आयोजना गरेको ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यक्रममा शर्माले पार्टी पुर्नगठनमा जोड दिनुभएको थियो ।
सोही सन्दर्भ औँल्याउँदै प्रचण्डले भन्नुभयो, ‘मैले कसैलाई कारबाही गरिनँ, बाबुराम, किरण, बादल र अरू कसैलाई पार्टीबाट निकालेको छैन, तर, कतिपयलाई ननिकाले पनि के गर्ने, बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ, त्यो पनि सत्य होइन । ‘मैले पर्याप्त छलफलका तावरण दिने गरेको छु, अहिले केही साथीले सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ, मैले प्रशस्त सिँगौरी खेल्न दिएको छु । कति सिँगौरी खेल्न मन छ खेल्नुस्, अस्ति डेढ महिना परामर्श बैठक भन्दै सँगै लिएर हिँडेकै हुँ, त्यो भन्दा बढी के हो जनवाद ?’
उहाँले भिन्न मतलाई दमन गर्नेकुरा आफ्नो कमजोरी नभएको जिकिर गर्नुभयो । आफ्नो बारेमा पार्टीभित्र पनि यसबारे आलोचना हुने गरेको उल्लेख गर्दै फरक मत राखेकै आधारमा कसैलाई पनि पार्टीबाट निष्कासन नगरेको स्पष्ट पार्नुभयो ।
टिप्पणीहरू