प्रशँशाका फूलबुट्टा भर्दै यसरी भयो कत्लेआम

(हिजो राती सम्पन्न एमाले बैठकको थप विवरण)

प्रशँशाका फूलबुट्टा भर्दै यसरी भयो कत्लेआम

वाक कलामा पोख्त प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफू अनुकूल कुरा मिलाउन र बटार्न त्यत्तिकै सिपालु मानिन्छन् । शब्द संयोजन मिलाएर प्रवचनात्मक शैलीमा मन्तव्य राख्ने खुवी भएका उनीसँग हुँदै नभएका कुरालाई पनि हो जस्तो पार्न सक्ने अचम्मको क्षमता छ ।

आफूमाथि उठेका चुनौतीलाई पन्छाउन जुनसुकै हदमा पुगेर कठोर हुने ओलीको अर्को विशेषता हो । यसबाट विपक्षी दल र विरोधी त निशानामा पर्ने नै भए,एमालेभित्रै फरक बिचार राख्नेहरु पनि मारमा पर्ने गरेका छन् ।

ओलीको नेतृत्वमाथि चुनौती दिँदा कसरी शहीद बनाइन्छ भन्ने कुराको पछिल्लो उदाहरण हुन्,पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । राजनीतिमा फर्किएको घोषणा गरेकी उनलाई रोक्न पार्टी सदस्यताबाटै बन्चित गरिएको छ ।

रोचक कुरा चाहिँ केन्द्रीय कमिटीबाट विद्याको बाटो छेक्ने निर्णय गराउँदा ओलीले प्रशंसाका फूलबुट्टा भरेका थिए । हिजो मध्यरात केन्द्रीय कमिटी बैठक समापन गर्दै उनले राष्ट्रपति पदमा पुगिसकेको व्यक्ति राजनीतिक दलभन्दा माथि हुने भएकाले पूर्व राष्ट्रपतिलाई ‘गणतन्त्र गौरव’ सम्मान दिइएको बताए ।

परिस्थितिलाई आफ्नो अनुकूल बनाएर चाहेजस्तो निर्णय गराउन भावनात्मक कुरा गर्ने गरेका ओलीले त्यसक्रममा विद्या र आफ्नो सम्बन्धबारे पनि चर्चा छेडे । माधवकुमार नेपाल र झलनाथ खनाल करिब २० वर्ष एमालेको नेतृत्वमा रहँदा यी दुई यौटै खेमामा थिए । नवौँ महाधिवेशनमा ओली अध्यक्ष निर्वाचित हुँदा विद्या त्यही प्यानलबाट उपाध्यक्ष भइन् । यो सम्बन्ध पछिल्लो पटक विद्या राष्ट्रपति पदमा हुँदासम्मै कायमै रह्यो । तर,उनै ओली अध्यक्ष रहेका बेला एमालेको सदस्यसमेत बन्न नपाउने गरी भण्डारीले राजनीतिक प्रतिवन्ध झेल्नुपरेको छ ।

'मैले आजसम्म विद्या भण्डारीको बारेमा कुनै पनि आलोचना गरेको छैन,कसैले उहाँको आलोचना गरेको मन पनि पर्दैन',ओलीले भनेका थिए । प्रशंसा गर्दा गर्दै उनले भण्डारीले भंगालबाट आफूलाई चेतावनी दिएको भन्दै चित्त दुखाए । 

पूर्व राष्ट्रपतिको राजनीतिक यात्रामा काँडेबार लगाएका ओलीले केन्द्रीय कमिटी बैठकमा भण्डारीले विगतमा गरेका कामको प्रशंसा गरेका थिए । पार्टीको जिम्मेवारी र राजकीय भूमिका अत्यन्त कुशलतापूर्वक सम्पादन गरेको उनले सुनाए । 

‘उहाँ बोल्ड र धैर्य भएको मान्छे हो । विगतमा जे-जे जिम्मा लिनुभएको थियो अत्यन्त कुशलताका साथ सम्पन्न गर्नुभयो’, विद्याको हकमा कठोर निर्णय सुनाउनुअघि भनेका थिए, ‘अनेमसंघ अध्यक्षको रुपमा धेरै राम्रो काम गर्नुभयो । उपाध्यक्ष हुँदा पनि दृढतापूर्वक पार्टीका पक्षमा उभिनुभएको हो ।’

भण्डारीलाई कसैको बहकाउमा नपर्ने प्रष्ट अडान भएको नेताका रुपमा प्रस्तुत गर्दै ओलीले थप भने, 'उहाँ बहकिने मान्छे हैन,बिचलित मान्छे हैन । राष्ट्रपति हुँदा सबैलाई बोलाएर सम्झाउनुभयो, देशको अभिभावक बन्नुभयो । हामीले गणतन्त्र गौरव दियौँ ।'

एमालेले पूर्व राष्ट्रपति भण्डारीलाई गत वर्ष वैशाख १० गते ‘गणतन्त्र गौरव’ बाट सम्मानित गरेको थियो । नेकपा स्थापनाको हिरक महोत्सवको अवसर पारेर माधव नेपाल र लोकेन्द्रबहादुर चन्दबाहेक सबै जीवित पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री प्रचण्डको  हातबाट उनलाई सो सम्मान प्रदान गरिएको थियो ।

यस सन्दर्भमा जनआस्थाले त्यतिबेलै राजनीतिमा आउने तयारीमा रहेकी भण्डारीलाई रोक्न रणनीतिक हिसाबले उक्त सम्मान दिइएको समाचार टिप्पणी लेखेको थियो । ‘विद्या भण्डारीको राजनीतिमा फर्किने बाटो बन्द‘ शीर्षकको उक्त सामाग्री अहिले पनि अर्काइभमा सुरक्षित छ।   

सम्बोधनका क्रममा उनले भण्डारीको आलोचना नगर्न नेताहरुलाई विशेष आग्रहसमेत गरे । ‘मैले आजसम्म विद्या भण्डारीको बारेमा कुनै पनि आलोचना गरेको छैन,कसैले उहाँको आलोचना गरेको मन पनि पर्दैन‘,ओलीले भनेका थिए । प्रशंसा गर्दा गर्दै उनले भण्डारीले भंगालबाट आफूलाई चेतावनी दिएको भन्दै चित्त दुखाए ।

मदनमाथि त्यस्ता आरोप लागेकै भए पनि  त्यसको चर्चा गर्ने त्यो उपयुक्त दिन र थलो थिएन । अहिलेको पुस्ताले सुनेको,बुझेको कुरा पनि होइन यो । 

च्यासलमा बैठक जारी रहँदा भण्डारीले निजी निवास भंगालमा केही पत्रकारलाई बोलाएर आफ्नो राजनीतिक पुनरागमन घोषणा र पार्टी सदस्यताबारे उठेका प्रश्नको जवाफ दिएकी थिइन् । सोच विचार गरेर राजनीतिमा फर्किएको भन्दै उनले कुनै हालतमा पछि नहट्ने स्पष्ट पारेकी थिइन् ।

त्यसले ओलीलाई कतिसम्म चित्त दुखाएको रहेछ भने बैठकमा भने, ‘मैले आजसम्म विद्या भण्डारीको बारेमा कुनै पनि आलोचना गरेको छैन,कसैले उहाँको आलोचना गरेको मन पनि पर्दैन । तर, आज यहाँ बैठक चल्दाचल्दै उहाँले पत्रकार सम्मेलन गरेर समानान्तर पार्टीजस्तो जे शब्दहरु भन्नुभयो त्यसप्रति दु:ख लागेको छ ।‘

यति लामो भूमिका बाँधेपछि उनले दुई वटा कारणले विद्यालाई पार्टीमा भित्र्याउन नसकिने प्रष्ट पारे । एक- राष्ट्रपति भैसकेको मान्छे सक्रिय राजनीतिमा आउनु राम्रो होइन । गणतन्त्र गौरवले सम्मान गरिसकेको अवस्थामा भण्डारी त्यहीअनुसार साझा व्यक्तिका रुपमा बस्नुपर्ने तर्क ओलीको रह्यो । दोस्रो- सदस्यता नवीकरणको प्रक्रिया नमिलेकाले पार्टीमा आउन मिलेन ।

शालीन भाषा शैलीमा भने, ‘उहाँको पार्टी सदस्यता प्रक्रिया पनि मिलेको रहेनछ । अध्यक्ष हुने कुनै सम्भवना पनि छैन । त्यो भएको हुनाले अहिले यो निर्णय गरेर जानुपर्ने भयो ।’ मन्चबाट अध्यक्षले पूर्व राष्ट्रपतिबारे यस्तो फैसला गर्दा तल हलमा बसेका केन्द्रीय सदस्यहरूले ताली ठोकेका थिए ।  

ओलीले भण्डारीलाई पार्टीमा सक्रिय गराउन भूमिका खेल्नेहरुप्रति असन्तुष्टि पनि पोखे । ‘उहाँ  राष्ट्रपति भएकै बेला एकचोटि राजनीतिमा आउने कुरा भएको थियो,तर त्यसबेला त्यसमा छलफल सम्भव थिएन र पछि सल्लाह गरौंला भनेको हो’, भण्डारी पक्षलाई घुमाउरो थ्रेट दिँदै भने, ‘तर अहिले जो साथीहरु उहाँलाई सक्रिय भैदिन आग्रह गर्दै जानुभयो,गलत गर्नुभयो ।’ 

त्यसो त, अहिले ओलीको खम्बा बनेर उभिएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल विद्यालाई पार्टी राजनीतिमा सक्रिय भैदिनुपर्यो भन्न जाने पदाधिकारी तहबाट पहिलो नेता हुन् । त्यो थाहा पाएर सचिवालयको एउटा बैठकमा ओलीले झाँको झारेका थिए । कसैको नाम नलिई 'को-को गएका छन् मैले थाहा पाएको छु' भनेर अध्यक्ष कड्किएको सन्दर्भ नेताहरूले अहिले पनि कोट्याउने गरेका छन् ।

आफ्नो बाटोमा तगारो बन्न आउनेलाई पन्छाउन साम दाम,दण्डभेद प्रयोगको नीति लिने ओलीले अध्यक्षमा प्रतिष्पर्धा गर्ने घोषणा गरेकी विद्यालाई त ‘अपमान’ गर्ने नै भए, जननेता मदन भण्डारीलाई समेत प्रशंसा गरेजस्तो गर्दै 'खुइल्याउने' काम गरेका छन् । गत असार १४ गते मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले मदनको समर्थन गरेको जस्तोगरी व्यक्तिगत प्रसंग निकालेर अस्वाभाविक टिप्पणी गरेका थिए ।

चार वटा श्रीमती भएको,सहकारी ठगेको र फुत्त राजनीतिमा आएको जस्ता आरोप लगाइएको भन्दै उनले मदनको समर्थन गरेजसरी भने, 'चार वटी कि कति वटी श्रीमती छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब ?' 

मदनलाई सहकारी ठगको आरोप लागेको कुरा पनि बेप्रसंग उठाएका थिए । जबकि नेपालको कम्युनिष्ट आन्दोलनमा मदन भण्डारीको योगदानलाई लिएर अहिलेसम्म आम रुपमा प्रश्न उठेको छैन ।

फरक बिचार राख्ने नेपाली कांग्रेसदेखि अलग धारको माओवादी केन्द्रले समेत मदनलाई मानेकै देखिन्छ । तर,ओलीले भनेका थिए, 'मदन भण्डारीलाई फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ भनेका थिए । उहाँ फुत्त निस्किएर नेता हुनुभएको थिएन,भूमिगत रूपमा काम गरेको धेरै वर्ष भएको थियो । संगठनात्मक काम गरेको धेरै वर्ष भएको थियो ।'

मदनमाथि त्यस्ता आरोप लागेकै भए पनि त्यसको चर्चा गर्ने त्यो उपयुक्त दिन र थलो थिएन । अर्कोतिर, अहिलेको पुस्ताले सुनेको र बुझेको कुरा पनि थिएन त्यो ।

टिप्पणीहरू