प्रचण्ड र बाबुराम कांग्रेसको पछि लागेको आरोप
माओवादीबाट टुक्रिएर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सीपी गजुरेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई ‘बुर्जुवा गणतन्त्र’को संज्ञा दिएका छन् ।
पार्टीको युवा संगठनको आयोजनामा आज भएको भ्रष्टाचारविरूद्ध खबरदारी र्याली उद्घाटन गर्दै उनले मुलुकमा अझै असली गणतन्त्र आइनसकेको बताए । आफ्नै पूर्व सहकर्मी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई बुर्जुवा गणतन्त्रको रक्षक भएर उभिएको दाबी गरे ।
प्रचण्ड र बाबुराम अझै पनि नेपाली कांग्रेसको पुरातन ऐजेण्डामा हिँडिरहेको गजुरेलले आरोप लगाए । ‘प्रचण्ड र बाबुराम अहिले पनि नेपाली कांग्रेसको एजेण्डामै हिँडिरहेका छन्’, उनले भने, ‘अहिले जनगणतन्त्र आएको छैन, यो त बुर्जुवा गणतन्त्र हो ।’
महासचिव मोहन वैद्य किरण अस्वस्थ बनेपछि पछिल्लो समय पार्टीको कार्यावाहक जिम्मेवारी सम्हालिरहेका गजुरेलले आफूहरू बुर्जुवा गणतन्त्रको लागि कहिल्यै नलडेको बताए ।
‘अहिले जुन गणतन्त्र आएको छ, त्यो त दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन, हामीले बुर्जुवा गणतन्त्रका लागि लडेका थिएनौँ’, उनले थपे ।
टिप्पणीहरू