स्थानीय तहमा हाकिमलाई अवरोध नगर्न निर्देशन
सरकारले प्रमुख प्रशासकीय अधिकृतको हाजिरीमा बाधा नपुर्याउन स्थानीय तहहरुलाई निर्देशन दिइएको छ ।
कतिपय स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएकोप्रति चासो राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज लिखित निर्देशन दिएको हो । मन्त्रालयको विज्ञप्तिमा केन्द्रबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराई सहज रुपमा काम गर्ने वातावरण बनाउन सबै स्थानीय तहहरुलाई अनुरोध गरिएको छ ।
‘केही स्थानीय तहहरुले हाजिर गराउन नसकिने भनी मन्त्रालयमा पत्राचार गर्ने, जानकारी गराउने एवं खटिएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराई सहज रुपमा काम गर्ने वातावरण बनाइदिनुहुन सम्बन्धित सबै स्थानीय तहहरुलाई मन्त्रालय अनुरोध गर्दछ ।’
मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय तहहरुको यसअघि वरिष्ठतम कर्मचारीलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिएको पनि जनाएको छ ।
टिप्पणीहरू