पत्रकारको तीनै दाजुभाइमाथि मुद्दा

पत्रकारको तीनै दाजुभाइमाथि मुद्दा

रुपन्देहीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक मगराठी विवादमा तानिएका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीको इञ्चार्जसमेत रहेका उनीमाथि असुली धन्दा चलाएको आरोप छ । 

आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई धम्क्याएको गम्भीर आरोप इन्स्पेक्टर मगाराठीमाथि लागेको छ । 

बताइएअनुसार केही समयअघि स्थानीय पत्रकार दीपक कलवारले भारतीय सीमा नाकामा भइरहेको भन्सार छली र प्रहरीको साथ सहयोगबारे समाचार लेखेका थिए । त्यसको केही समयपछि (अप्रिल ८) उनै इन्स्पेक्टरले कलवारलाई ‘इप्रका आउनुस्,काम छ,भनेजति पैसा दिन्छु’ भन्दै म्यासेज पठाए । तर कलवारले ‘तपाईंको कर्मचारीले प्रलोभन दिइरहेका छन्’ भन्दै उक्त निम्तो प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेलाई फरवार्ड गरिदिए ।

अर्को समाचार लेखिएपछि मगराठीकै अग्रसरतामा इप्रकाले वैशाख १७ गते कलवारका तीन दाजुभाइविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरेको बताइन्छ । कलवारका भाइ निरञ्जनलाई समातेर २२ दिन थुनामा राख्नमा पनि उनकै  हात रहेको बुझिएको छ । 

आफूविरुद्ध समाचार लेखेको, सिडिओलाई उजुरी गरेकोजस्ता निहुँ झिकेर इन्स्पेक्टर मगराठीले प्रतिशोध साँधेको आरोप छ । जिल्ला प्रशासन कार्यालयले ५० हजार धरौटीमा तीन दाजुभाइलाई छोड्न आदेश दिइसकेको छ । 

परराष्ट्रमन्त्रीको नाम बिक्री

परराष्ट्रमन्त्री डा. आरजू राणाको खास मान्छे हुँ भन्दै हाकिमलाई समेत टेरपुच्छर नलगाउने गरेको कतिपयको गुनासो छ । 

हालै सरुवा भएर त्यहाँ पुगेका एसपी प्रदीपबहादुर क्षेत्रीले भारतीय सीमा नाकामा हुने भन्सार छली रोक्न विभिन्न रणनीति र योजना बनाएको तर इन्सपेक्टर मगराठीले भने सो योजनाअनुसार काम नगरेको  एक अधिकृतले दाबी गरे । 

लुम्बिनीबाट करिब ८ किलोमिटर दक्षिणमा कक्रहवा नाका छ, त्यसलाई सीमापारी कालिदहको नामले चिनिन्छ । सोही क्षेत्रबाट तस्करी भइरहेको छ । मुख्य बोर्डरको पश्चिमतर्फ रहेको आँपको बगैचासँग जोडिएको दशगजाबाट चामल,चिनी, खाद्यान्न सामग्रीहरु,कपडा, कस्मेटिक सामानहरु साइकलमा ल्याएर बोर्डर आसपासका मदिरा र चिया पसलमा राख्ने गरिन्छ ।

बोर्डरमा रहेका पसलको अगाडि साँझ बिहान र मध्यान्हको समय साइकलमा समान बोकेर ल्याउनेको लर्को नै हुन्छ । बालबालिका तथा महिला र निम्न वर्गीय मानिसलाई प्रयोग गरेर तस्करहरुले सामान बोर्डर पार गराउने गर्दछन् ।

यसरी कक्रहवा नाका पार भएका सामान तस्करहरुले दुई वटा बाटो प्रयोग गरेर पूर्व-पश्चिम राजमार्गसम्म पुर्याउने गर्दछन् । मदिरा र चिया पसलमा राखेको सामान मोटरसाईकलमा राखेर खुनगाईदेखि मनौरी, मोहमदनगर,मोसढ हुँदै लुम्बिनी तौलिहवा राजमार्गस्थित मोगलाह चौक निस्कने एउटा बाटो छ, बाट उत्तरतर्फ हरैया लगिन्छ । 

अर्को बाटो,कक्रहवाबाट आमा सुक्रौली,खुनगाई,लुम्बिनी पडरीया बसपार्क हुँदै महजिदिया निस्केर खुदाबगर सूर्यपुरा हुँदै रामापुर कोलोनीसम्म तस्करहरुको मोटरसाइकल हुइँकिने गर्दछ । 

सामान पछाडि राखेर मोटरसाइकलहरु साँझ ६ देखि ११ बजेसम्म निरन्तर कुद्ने गर्दछन् । तर,तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको इप्रका लुम्बिनीको टिम भने मायादेवी मन्दिरभित्र घुमघाममा व्यस्त रहने गरेको छ । 

इप्रका इन्चार्ज इन्सपेक्टर मगराठी अधिकांश समय पर्सा चोक र महिलवार आसपासका होटलमा बस्ने गरेको स्थानीय बताउँछन् । 

किराना समानको तस्करी गर्ने प्रदीप जयसवाल र पवन जयसवाल,कपडा र मोबाइलको काम गर्ने लल्लु,चिनीको काम गर्ने सुनिल यादवले नियमित रुपमा मास्केबारी बुझाउने गरेका छन् । त्यसनिम्ति सुनिल कुँवर र अशोक केवट नाम दुई जना घुमुवा खटिन्छन् । 

इन्सपेक्टर मगराठी यसअघि चोरी तस्करीको सामान नियन्त्रणमा लिन गएको राजश्व अनुसन्धान विभागको टोलीलाई सुरक्षा दिन नसकेकोमा पनि विवादमा तानिएका थिए । त्यतिबेला तस्करहरुले विभागको टोलीमाथि आक्रमण गर्दासमेत मगराठीको टोलीले समात्न सकेको थिएन । 

यता मगराठीले भने आफूमाथि लगाइएको सबै आरोप मिथ्या रहेको दावी गरेका छन् । उनले जनआस्थासँगको कुराकानीमा भने, ‘मैले त्यो कलवारमाथि कुनै प्रतिशोध साधेको हैन,ममाथि दुर्व्यवहार गरेपछि यो विषय जिल्ला पुगेको हो । मैले कोहीसँग साठगाँठ गरेको पनि छैन,सबै आरोप गलत हुन् ।’

 

टिप्पणीहरू