प्रचण्डको आग्रह, महराको समर्थन

प्रचण्डको आग्रह, महराको समर्थन

नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने पार्टीहरूसँग एकता प्रक्रिया अगाडि बढाउन उपाध्यक्ष कृष्णबहादुर महरालाई संयोजकको जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्ले नै महरालाई उक्त जिम्मेवारी सुम्पिनुभएको बताइन्छ ।

स्रोतका अनुसार अध्यक्ष दाहाल डेढ साताअघि महरा निवास पुगेर पार्टी एकताका विषयमा छलफल गर्नुभएको थियो । दाहालले पार्टी निर्माणको संघर्ष, विगतको सहयात्रा, पार्टीको वर्तमान अवस्था र आन्तरिक द्वन्द्वबारे समीक्षा गर्दै महरासँग सहयोगको ठूलो अपेक्षा गरेर त्यहाँबाट फर्कनुभएको बताइन्छ । 

भेटमा अध्यक्ष प्रचण्डले महरालाई ‘इमान्दार नेता’को संज्ञा दिनुभएको थियो । ‘अरु पार्टीका नेतासँग लड्न सकिँदो रहेछ, तर आफ्नै पार्टीका नेताहरूलाई सम्झाउन कठिन हुँदो रहेछ’ प्रचण्डको उक्त भनाइमा महराको जवाफ थियो, ‘मर्नुभन्दा अघि पार्टीका लागि केही राम्रो गर्न सकूँ भन्ने चाहना छ ।’

स्रोतका अनुसार अन्य नेताहरूले व्यक्तिगत स्वार्थ देखाउँदा पनि महराले कहिल्यै त्यसो नगरेकोमा प्रचण्डले अत्यावश्यक समयमा विशेष सहयोगको अपेक्षा गरेको निश्कर्ष निकालिएको छ । महरालाई मुख्यतः नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता प्रक्रियामा संयोजकको भूमिका निर्वाह गर्न आग्रह गरिएको हो ।

आज दिउँसो आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकमा प्रचण्डसँगै महराको सहभागिता थियो ।

टिप्पणीहरू