बारका पूर्वअध्यक्षमाथि बौद्धिक चोरीको बात
नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेमाथि बौद्धिक चोरीको आरोप लागेको छ ।
नेपाल बारकै सदस्य रहेका अधिवक्ता डा.कुन्साङ लामा योन्जन (योञ्जन) ले सामाजिक सञ्जालमै लेखेर बौद्धिक चोरीको आरोप लगाएका हुन् । अदालतको अवहेलना मुद्दामा तारिख खेपिरहेका घिमिरेमाथि फेरि बौद्धिक चोरीको झ्याउलो थपिएको छ । उनीमाथि आरोप लगाउने अधिवक्ता डा.लामा पनि फौजदारी विधिशास्त्रका विज्ञ मानिन्छन् । उनले आफ्नो स्लाइड प्रस्तुति हुबहु नाम मात्र फेरेर प्रयोग गरिएको दाबी गरेका छन् । यति मात्र नभै बौद्धिक चोरी भएकोमा सामाजिक सञ्जालमार्फत आक्रोशसमेत व्यक्त गरेका छन् । उनले आफूले गत असार ६ गते लिएको ‘क्लासको स्लाइड’ घिमिरेले हुबहु दाङ पुगेर साउन ७ गते प्रस्तुत गरेको बताएका हुन् ।
डा.योञ्जनले नाम उच्चारण नगरे पनि स्पष्ट बुझिने भाषामा घिमिरेविरुद्ध बौद्धिक चोरीको आरोप लगाएका छन् ।उनले सोमबार फेसबुकमा लेखेका छन्, ‘कस्तो लाज मर्नु ! बरिष्ठ, विज्ञ, उपमाको धनी, मैले सदा सम्मान गर्ने व्यक्तिले नै मेरो स्लाइड प्रेजेन्टेसन हुबहु, अझ नाम मात्र फेरेर प्रयोग गरेछन् । बार काउन्सिलमा मैले असार ६ गते लिएको क्लासको स्लाइड दाङमा साउन ७ तिरै देखाएछन् ।’
डा.योञ्जन लेख्छन्, ‘ज्ञान बाँड्नु राम्रो हो तर हदैसम्मको बौद्धिक चोरीचाहिँ अलि सुहाएन । कठै मेरो देश र बौद्धिक संसार ।’ नेपाल कानून व्यवसायी परिषदले २०८२ साउन ६ र ७ गते लुम्बिनी प्रदेशको दाङमा आयोजना गरेको ‘फौजदारी विषयमा विशेषीकृत तालिम’ प्रयोजनका लागि केन्द्रीय बारका निवर्तमान अध्यक्ष घिमिरेले सहजकर्ताका रूपमा क्लास लिएका थिए ।
प्रतिलिपि अधिकार ऐन, २०५९ ले बौद्धिक चोरीलाई एउटा कपटपूर्ण कार्यका रूपमा व्याख्या गरेको छ । कसैले अरुको काम (रेखाहरू, पाठहरू, अनुच्छेदहरू, चित्रहरू आदि) को नक्कल गर्ने, तिनीहरूलाई आफ्नो दावी गर्ने, सामग्रीको स्रोत उल्लेख नगर्नेजस्ता कार्यलाई कानुनअनुसार बौद्धिक चोरी मानिन्छ । हिजोआज इन्टरनेटमा सामग्रीको व्यापक उपलब्धताको कारण कतिपले जानाजानी, कतिपयले अन्जानमा बौद्धिक चोरी व्यापक रूपमा गर्ने गरेका छन् ।
टिप्पणीहरू