सात बुँदेलाई कमजोर नआँक्न मन्त्रीको चेतावनी
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता र सुशासनका लागि सात बुँदे सहमतिको जगमा अहिलेको सरकार गठन भएको दाबी गरे । स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएको जिकिर मन्त्री सिंहको रह्यो ।
हरेक ६ महिनामा सरकार बदलिने अस्थिर बाटोलाई तोडेर दुई दलीय गठबन्धन अघि बढेको उनको ठहर छ । कांग्रेस सरकारमा रहनुको औचित्य पुष्टि गराउन उनले ०७९ को चुनावपछि सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न सचेत गराए ।
उनले आफूहरु जनतालाई अधिकारसम्पन्न बनाउन राजनीतिमा लागेको र आज पर्यन्त्र त्यसैमा तल्लिन रहेको सुनाए । भन्छन्, , ‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन ।’
उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्नेमा पनि जोड दिएका छन् । पार्टीलाई विधि, पद्धति र नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुको विकल्प उनले देखेका छैनन् ।
काँग्रेसलाई चुनौतिको सामना गर्नसक्ने शक्ति बनाउनुबाहेक अर्को उद्देश्य आफूमा नरहेको सिंहले जिकिर गरे ।
टिप्पणीहरू