प्रहरीको हुलाक बक्समा प्रधानमन्त्रीविरुद्ध पत्र

प्रहरीको हुलाक बक्समा प्रधानमन्त्रीविरुद्ध पत्र

प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने सिन्धुलीका युवराज पौडेल सफलले प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपसभामुख इन्दिरा रानासहिलाई पक्राउ गर्न माग गर्दै भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका हुन् । यद्यपि, उक्त जाहेरी दर्ता भएको छैन । 

पौडेलले मंगलबार परिसरमै पुगेर जाहेरी दर्ता गराउने प्रयास गरेकोमा प्रहरीले पर्याप्त कागजात र प्रमाण नपुगेको भन्दै फर्काएकाे थियाे । त्यसपछि उनले सोही दिन हुलाकमार्फत् जाहेरी पठाएका हुन् । हिजो बुधबार जाहेरी हुलाकमार्फत आइपुगेको परिसरका एक उच्च प्रहरी अधिकृतले जनआस्थालाई जानकारी दिए । उनका अनुसार परिसरको हुलाक बक्समा आएको पत्र दर्ता भने भएको छैन ।  

‘ती व्यक्ति (पौडेल) अस्ति परिसरमै आएका थिए, प्रधानमन्त्री र गृहमन्त्रीसहित डेढ दर्जन व्यक्तिलाई पक्राउ गनुपर्ने व्यहोरोका पत्र थियो तर हामीले अध्ययन गर्दा त्यो कुनै पनि दृष्टिकोणबाट दर्ता गर्न मिल्ने देखिएन’, ती अधिकृतले भने, ‘जाहेरी जस्तो पायो त्यस्तै दर्ता गर्ने हुँदैन, कि पर्याप्त कागजात र प्रमाण हुनुपर्यो । कम्तिमा दर्ता गर्नको लागि विधिसम्मत त हुनुपर्यो नि !’

पौडेलको त्यही पत्र हुलाकमार्फत् पुनः परिसरमा आइपुगेको उनैले पुष्टी गरे । भन्छन्, ‘त्यो पत्र घुमेर फेरि हाम्रो चिठ्ठी पत्र आउने हुलाक बक्समा आइपुगेको छ, दर्ता भएको छैन, बाहिर झुन्डिएको बक्समा आएको मात्र हो, जाहेरी दर्ता गर्नुपर्ने केही आधार नै छैन, त्यो हुँदैन ।’ 

ती अधिकृतका अनुसार जाहेरीमा पौडेलले  पूर्व गृहमन्त्री वामदेव गौतम, कृष्ण सिटौला, भीमबहादुर रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाँण, रामबहादुर थापा, डोलप्रसाद अर्याललगायतलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । उनीहरुले आफ्नो मन्त्रीकालमा ठूलो भ्रष्टाचार गरेको पौडेलको दावी छ ।
 

टिप्पणीहरू