लिङ्देनका केन्द्रीय सदस्यद्धारा पार्टी परित्याग
राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी छोडेका छन् ।
पार्टीलाई अध्यक्षको प्राइभेट क्लबजस्तै बनाइएको गुनासो पोख्दै उनले आज पार्टी परित्यागको घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा स्ट्याट्स लेख्दै उनले तीन दशकयता पार्टी गुट, स्वार्थ र व्यक्तिवादी प्रवृत्तिमा रुमल्लिएको बताए ।
विचारभन्दा पदको भागबण्डाले पार्टीमा प्राथमिकता पाएको र त्यसैले गुटबन्दी सृजना गरेको कार्कीको ठहर छ । उनले लेखेका छन्,‘राप्रपा २०४७ सालमै एउटै विचार समूहबीच सहमति हुन नसकी शुरुवातमैं जुम्ल्याहा रुपमा जन्मियो । त्यसपछिका तीन दशकदेखि “एकता” को नारा लगाइएपनि व्यवहारमा गुट, स्वार्थ र व्यक्तिवादी प्रवृत्तिले संगठन कमजोर रह्यो । नेतृत्वबीच सहकार्यको भावना कहिल्यै स्थायी हुन सकेन ।’
त्यसैगरी, उनले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति पनि चर्को असन्तुष्टि पोखेका छन् । कार्कीले लिङ्देनमाथि योगदानकर्तालाई अपमानित र आलोचकलाई पार्टीबाट निष्काशन गरेको आरोप लगाएका छन् । नेतृत्वको अहंकार, भागबण्डा र हैकमवादी प्रवृत्तिले पार्टीमा सुधारको कुनै सम्भावना नदेखिएको उनले बताएका छन् ।
कार्कीले अगाडि भनेका छन्,‘पार्टी अध्यक्ष जसलाई हामीले अभिभावक ठानेका थियौं तर सबैलाई मिलाएर अघि बढाउनुको सट्टा आफूसँग विमति राख्ने, सुधारका सुझाव दिने र अधिवेशनमा रातदिन मरेर सहयोग गर्ने त्यागी कार्यकर्तालाई नै छानीछानी हटाउन थालेका छन् । जब नेतृत्व नै आफ्ना योगदानकर्तालाई अपमानित गर्छ र आलोचकलाई निष्काशनमा केन्द्रित हुन्छ, त्यस्तो नेतृत्वबाट पार्टीको भविष्य निर्माण कुनै हालतमा सम्भव छैन भन्ने प्रष्ट देखिन्छ ।’
मुर्ख, संवेदनशील र हैकमवादी नेतृत्वको पछाडि लाग्नु देश र जनतालाई धोका दिनु भएको बताउँदै उनले अब उप्रान्त कुनै दलमा आबद्ध नहुने पनि जानकारी दिएका छन् ।
कार्की राप्रपाको पूर्व मधेश प्रदेश संयोजक, पूर्व उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य, पूर्वप्रवक्ता, पूर्वयुवा तथा खेलकुद संयोजक, पूर्व अनुशासन समितिको सदस्यसचिव पनि हुन् ।
टिप्पणीहरू