काभ्रेपलाञ्चाेकमा सडक दुर्घटना न्यूनीकरणकाे पहल
काभ्रे प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा विपद् व्यवस्थापनमा योगदान पुर्याउने उद्देश्यले वि.पि. र अरनिको राजमार्गमा चेतनामूलक सूचनापाटी (बोर्ड) स्थापना गरेको छ।
सडक सुरक्षा प्रवर्द्धनका लागि गरिएको यस पहल अन्तर्गत वि.पि. राजमार्गका २५ स्थान र अरनिको राजमार्गका ५ स्थान गरी जम्मा ३० ठाउँमा ३० वटा चेतनामूलक बोर्डहरू राखिएको हो।
सडक प्रयोगकर्तालाई सजग बनाउने उद्देश्यले ती बोर्डहरूमा सावधानी अपनाउने, सुरक्षित सवारी चलाउने, र गति सीमा ननाघ्ने जस्ता सन्देशहरू समावेश गरिएको छ।
प्रहरीका अनुसार, यस पहलले दुर्घटनाको सम्भावना न्यूनिकरणमा ठोस प्रभाव पार्ने विश्वास लिइएको छ।
बढ्दो सवारी चाप, तीव्र गतिमा चलाइने सवारीसाधन, र चालकको लापरवाहीका कारण सडक दुर्घटना दिनानुदिन बढ्दो क्रममा छ। यस्तो अवस्थामा सूचनामूलक र चेतनामूलक सन्देशद्वारा जनचेतना फैलाउनु प्रभावकारी माध्यम भएको काभ्रे प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक डिभिजन कार्यालय भक्तपुरको सहकार्यमा सञ्चालित यस कार्यक्रमलाई निरन्तरता दिई अन्य जोखिमयुक्त क्षेत्रहरूमा पनि विस्तार गरिने काभ्रे प्रहरीले जानकारी दिएको छ।
टिप्पणीहरू