जनार्दनलाई जथाभावी नबोल्न निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आन्तरिक कुरा बाहिर सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
उपमहासचिव जनार्दन शर्माले नेतृत्वविरुद्ध सार्वजनिक आलोचना गरिरहेका बेला आज स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डको असन्तुष्टि प्रकट भएको हो । पार्टीको आन्तरिक फोरममा हुनुपर्ने बहसलाई सार्वजनिक चर्चाको विषय बनाउनु ठिक नभएको उहाँको भनाइ थियो ।
आजदेखि शुरु भएको स्थायी समिति बैठकमा समसामयिक राजनीतिको ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले यो अनुशासनको विषय बन्ने संकेतसमेत दिनुभएको छ । उपमहासचिव शर्मातर्फ इंगित गर्दै उहाँले बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रुपममा बोल्दै हिँड्ने शैली गलत रहेको स्पष्ट पार्नुभयो ।
‘पार्टीभित्रै छलफल र बहस गर्न सबैलाई छुट छ । जनार्दनजीले सार्वजनिक रूपमा बोल्नु ठिक होइन’, अध्यक्षको भनाइ बैठक स्रोतले सुनायो, ‘यसले बाहिर राम्रो सन्देश गएन। पार्टीभित्रका कुरा यहीँ राखेर सबैले अनुशासनको ख्याल गर्नुपर्छ ।’
नेकपाका संस्थापक पुष्पलालको स्मृति दिवसको अवसरमा असार ६ गते शर्माले प्रचण्डलाई घुमाएर भ्रष्टाचारी करार गरेपछि माओवादीमा कलह चर्किएको छ । तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीपछिका सबै कम्युनिष्ट प्रधानमन्त्री बिचौलियाको प्रभावमा परेको शर्माको दाबी थियो ।
भोलिपल्ट पुष्पलालकै कार्यक्रममा प्रचण्डले शर्मालाई जवाफ दिंदै 'सिंगौरी खेल्न दिएको' टिप्पणी गर्नुभएको थियो । यसले माओवादीको तल्लोपंतिमा कित्ताबन्दीको अवस्था बनेपछि एजेण्डा नै बनाएर स्थायी कमिटीमा छलफल हुँदैछ ।
अध्यक्षले राखेको एजेन्डामाथि भोलिदेखि नेताहरूले धारणा राख्ने कार्यसूची छ । बैठक भोलि ११ बजे बैठक बस्नेछ ।
टिप्पणीहरू