निलम्बन गर्नुपर्नेलाई तलब–भत्ता

निलम्बन गर्नुपर्नेलाई तलब–भत्ता

बलात्कृत युवतीको गोपनीयता भंग गरेको फौजदारी अभियोग दर्ता भई धरौटीमा छुटेका कर्मचारीलाई तलब भत्ता दिइएको देखिन आएको छ । फौजदारी अभियोगअन्तर्गतको साइबर अपराध मुद्दा दर्ता भई धरौटीमा छुटेका कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका कर्मचारी सन्दीपकुमार ठाकुरलाई निलम्बन गर्नुको सट्टा पालिकाले न हाजिरी रोक्का गरेको छ, न तलब भत्ताबाट नै वञ्चित गरेको छ । गाउँपालिका अध्यक्ष कमलेश चौधरीको दबाबमा कर्मचारीहरूले बाध्य भएर फौजदारी अभियोगमा आरोपी ठाकुरलाई तलब भत्ता दिएको बताइन्छ ।

गाउँपालिका अध्यक्षसमेत संलग्न रहेको युवती बलात्कार घटनामा पीडितको गोपनीयता भंग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय, रुपन्देहीले गत जेठ २ गते ठाकुर, पालिका अध्यक्ष चौधरीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सोही घटनामा पालिका अध्यक्ष चौधरी पक्राउ परे पनि उनलाई एमाले लुम्बिनी प्रदेश सांसद मधुसुदन शरण चौधरी र विष्णु पन्थीको जिम्मामा जमानीमा सरकारी वकिल कार्यालयले छाडेको थियो।

तर मुद्दा दर्तासँगै पक्राउ पुर्जी जारी भई फरार ठाकुरले जेष्ठ २३ र असार ४ गतेसम्म कार्यालयमै हाजिर गरेका थिए । त्यही क्रममा रुपन्देही जिल्ला अदालतले ७ दिने र ३५ दिने पक्राउ पुर्जीसमेत जारी गरेको थियो । भारतमा लुकेर बसेका ठाकुर असार १० गते अदालतमा हाजिर भई ३० हजार धरौटीमा छुटे । छुटेपछि उनी असार ११ गतेदेखि पुनः कार्यालयमा हाजिर भई कामकाज गर्न थालेका हुन् ।

मुलुकी देवानी संहिता, निजामती सेवा ऐन तथा प्रचलित कानुनअनुसार सरकारी सेवामा रहेका कुनै पनि तहका कर्मचारीलाई फौजदारी अभियोग लागेपछि सफाइ नपाउँदासम्म कार्यालयमा हाजिर गराउन वा काममा लगाउन नपाइने व्यवस्था छ । कपिलवस्तु बार एशोसिएसनका अध्यक्ष तथा अधिवक्ता ज्ञानहरी भट्टराईका अनुसार, त्यस्ता कर्मचारी स्वतः निलम्बन हुने र सफाइ नपाएसम्म आधा तलब मात्र पाउने व्यवस्था छ।

तर पालिकाले निलम्बनको सट्टा ठाकुरलाई काममा खटाएर तलब भत्ता दिइरहेको छ । पालिकाले हलुका सवारी चालक रहेका ठाकुरको एनआइसी एशिया बैंक खातामा असार महिनाको बिदा कटाएर २० हजार तलब पठाएको देखिन्छ । जेठ ३ गतेदेखि भारतमा बसिरहेका बेला समेत ठाकुरलाई पालिकाले हाजिर गराएको आरोप पालिकाकै कर्मचारीहरू लगाउँछन् । उनलाई साउन १३ गतेसम्म हाजिर गराइराखिएको छ ।

यस विषयमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मलाई जानकारी छैन, बुझेर मात्र भन्न सक्छु ।’ ठाकुर पालिका अध्यक्ष चौधरीकै सवारी चालक र घटनासँग प्रत्यक्ष रूपमा जोडिएका व्यक्तिसमेत हुन् ।

टिप्पणीहरू