भारतबाट नेपालमा सिधै पैसा पठाउन सकिने

भारतबाट नेपालमा सिधै पैसा पठाउन सकिने

अब भारतको एचडीएफसी बैंकमार्फत नेपालस्थित महालक्ष्मी विकास बैंकमा सिधै रकम जम्मा गर्न मिल्ने भएको छ । सीमापार वित्तिय सेवा प्रवर्द्धन तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्यका निम्ति दुवैबीच समझदारी भएको हो । 

योसँगै भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी बैंक पहिलो विकास बैंक बनेको छ । समझदारीअनुरुप महालक्ष्मी बैंकले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ । साथै, दुवै बैंकले सम्पूर्ण प्रक्रियागत काम गरी परीक्षण कारोबारसमेत गरिसकेका छन् । 

जसअनुसार महालक्ष्मी विकास बैंकको एचडीएफसी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवाअन्तर्गत सिएमएस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त हुनेछ । 

यसले कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर, रियल टाइम ग्रस सेटलमेण्ट र फण्ड ट्रान्सफरको प्रयोग गरी भारतको एचडीएफसी बैंकमार्फत महालक्ष्मी बैंकको खातामा सिधै रकम पठाउन सक्नेछन् । 

साथै, भारतमा रहेका अन्य बैंकको चेक जम्मा गरेरसमेत नेपाल पैसा पठाउन सकिनेछ । यो सम्झौताले नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउँदै सीमापार व्यापार तथा रेमिट्यान्समा सहज हुने बैंकको विश्वास छ ।

टिप्पणीहरू