गभर्नरलाई फुली,खरदारलाई सुली

गभर्नरलाई फुली,खरदारलाई सुली

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल आफैंले राष्ट्र बैंक ऐनले तोकेको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन सकेका छैनन् । तर बैंकको मानव संशाधन व्यवस्थापन विभागले भने सहायक द्वितीय (खरिदार) श्रेणीका कर्मचारीको विज्ञापनमा सहभागी हुन चाहने सर्वसाधारणलाई अनिवार्य रुपमा ‘१० जोड दुई’ को प्रमाणपत्र पेश गर्न सूचना निकालेको छ । 

राष्ट्र बैंकले आज सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘कर्मचारी सेवा विनियमावलीअनुसार,सहायक द्वितीय श्रेणीका उम्मेदवारहरूले अनिवार्य रूपमा माध्यमिक शिक्षा उत्तीर्ण प्रमाणपत्र (१०+२) पेश गर्नुपर्नेछ ।’ तर गभर्नर पौडेलले खुद आफूले राष्ट्र बैंक ऐन,२०५८ को दफा २० (ग) अनुसार आर्थिक, मौद्रिकलगायत तोकिएको १० मध्ये एक विषयमा स्नातकोत्तर तह अध्ययन पूरा गरेको शैक्षिक योग्यताको प्रमाणपत्र अहिलेसम्म प्रस्तुत गरेका छैनन् ।

गत जेठ पहिलो साता नियुक्त उनको ऐनबमोजिमको योग्यता नरहेको दाबीसहित सर्वोच्च अदालतमा मुद्दा परेको छ । अघिल्लो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पौडेल गभर्नरका लागि कानुनतः अयोग्य भन्दै उजुरी परिसकेको छ ।

उनले तीन दशकअघि चीनको सांघाई टेक्सटाइल युनिभर्सिटीबाट टेक्सटाइल इञ्जिनियरिङमा स्नातक गरेको देखिन्छ । त्यसपछि अमेरिकाबाट सन् २०१० ताका विद्यावारिधी गरेको प्रमाणपत्र देखाउँदै आए पनि गभर्नरका लागि ऐनले तोकेको विषयहरुमध्ये एउटामा पनि स्नातकोत्तर तहको अध्ययन पूरा गरेको प्रमाणपत्रबारे केही बताउन सकेका छैनन् ।

टिप्पणीहरू