कक्षा १२ मा ‘बी’ ग्रेड धेरै, ६१.१७ प्रतिशत उत्तीर्ण
कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कुल परीक्षार्थीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ । बाँकी ३८.८३ प्रतिशत परीक्षार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेका छैनन् ।
गत वैशाख २१ गतेदेखि सञ्चालित परीक्षामा कुल पाँच लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये तीन लाख ९६ हजार ३४७ जना नियमिततर्फ र एक लाख १४ हजार ६४० जना आंशिकतर्फ थिए ।
बोर्डका अनुसार नियमिततर्फ दुई लाख ४२ हजार ४६५ र आंशिकतर्फ ४१ हजार ८४० जनाले ग्रेड प्राप्त गरेका छन् । यसपटक सबैभन्दा धेरै विद्यार्थीले बी प्लस (जीपीए २.८१–३.२०) ल्याएका छन् । ग्रेडअनुसार विद्यार्थीको संख्या यस प्रकार छः
ए प्लस — १३,५०२ जना
ए— ५५,८९६ जना
बी प्लस — ९४,२६८ जना
बी — ६९,८१२ जना
सी प्लस — ८,९६४ जना
सी— २३ जना
यसपटक १७ परीक्षार्थीको परीक्षा रद्द भएको छ भने पूरक परीक्षा भदौ २८ र २९ गते हुने जानकारी दिइएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, गत वर्षको तुलनामा यसपटक ९ प्रतिशतले नतिजा सुधार भएको हो । ‘पढाइ र परीक्षा प्रणालीमा सुधार गरिएकाले कक्षा १२ को नतिजा पनि एसईईजस्तै सन्तोषजनक देखिएको छ,’ शर्माले पत्रकार सम्मेलनमा बताए ।

टिप्पणीहरू