सरकारलाई एमाले सांसदको प्रश्न : संविधान संशोधन कहाँ पुग्यो ?

सरकारलाई एमाले सांसदको प्रश्न : संविधान संशोधन कहाँ पुग्यो ?

सरकारको नेतृत्वकर्ता नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो ? भन्दै प्रश्न सोधेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएकोमा सरकारप्रति असन्तुष्टि व्यक्त गरे । संविधान संशोधनप्रति गरिएको प्रतिवद्धता कार्यान्वयन नहुँदा सार्वजनिक रुपमा सरकारमाथि प्रश्न उठिरहेको बाँस्कोटाले बताए । 

‘यो समिकरणले केही कुराहरु उठाएको थियो । तर भन्नुपर्छ–संविधान संशोधनको विषय कहाँ पुग्यो ? त्यो विषय अब अगाडि आउनुपर्छ । र हामीले आफूले आफूलाई पनि समिक्षा गर्नुपर्छ । सुधार्ने ठाउँहरुमा सुधार गर्न तयार हुनुपर्छ । सुध्रिनुपर्ने ठाउँमा सुध्रिनका लागि पनि तयार हुनुपर्छ‘, उनले भने ।  

पुराना दल सबै खराब हुन् भन्ने भाष्य स्थापित गरेर लोकतन्त्रलाई नै कमजोर बनाउन खोजिएको बेला यस्ता कुरामा सचेत हुनुपर्नेमा बाँस्कोटाले जोड दिए । लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ र गतिशील बनाउन सबै राजनीतिक शक्ति गम्भीर भएर लाग्नुपर्ने आवश्यकता उनले औंल्याए ।  

‘अहिले एउटा भाष्य निर्माण गर्न खोँजिदै छ । यो व्यवस्थालाई कमजोर बनाउनको निम्ति कसैले केही गरेन भन्ने जुन भाष्य निर्माण गर्न खोँजिदै छ । यो लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाउने कुरा हो । पंगु बनाउने कुरा हो‘, भने, ‘अरुलाई दोष थुपारेर आफू उम्किने कुरा पनि हो । लोकतान्त्रिक अभ्यासलाई अझै  सुदृढ र गतिशील बनाउनुपर्छ ।’

नयाँ राजनीतिक दलहरु लोकप्रियतावादमा लागेको बताउँदै एमाले सांसद बाँस्कोटाले सदन बहिस्कार गरेर व्यवस्था कमजोर बनाउनुभन्दा सुदृढ बनाउनेतर्फ भूमिका खेल्न सल्लाह दिए ।

टिप्पणीहरू