गोली हानिएको स्थानबाट ८० कार्टुन रक्सी बरामद

गोली हानिएको स्थानबाट ८० कार्टुन रक्सी बरामद

सप्तरीमा गएरातिको गोली काण्ड भएको स्थानबाट प्रहरीले ८० कार्टुन रक्सी नियन्त्रणमा लिएको छ । गएराति राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोली प्रहारबाट ३५ वर्षीय लालु यादवको मृत्यु भएको छ ।

स्थानीयले आज दिउँसो जिल्ला प्रहरी कार्यालयअगाडि तोडफोडको प्रयाससहित टायर बालेर विरोध प्रदर्शन गरेका थिए । अवैध मदिरा जम्मा पारेको सूचनापछि नियन्त्रणको लागि खटिएको प्रहरी टोलीले गएराति ११ बजेतिर चार राउण्ड हवाइ फायर गरेको हो । सोही क्रममा घाइते भएका यादवको उपचार गर्दागर्दै ज्यान गएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी गौतमकुमार केसीका अनुसार प्रहरी निरीक्षक (इन्सपेक्टर) वीरेन्द्रकुमार यादवको नेतृत्वमा गएको पहिले आठ जना र पछि कल्याणपुरकोसमेत गरी ३० जनाको टोलीले घटनास्थलबाट कस्तुरी, मामाश्री, दिलवाले, वृष, कर्णाली ब्राण्डको ८० कार्टुन मदिरा नियन्त्रणमा लिएको थियो । सो क्रममा दुई जना प्रहरी पनि घाइते भएको बताइन्छ । प्रहरी निरीक्षक यादव र सहायक हवल्दार सिकेन्द्र थारु गजेन्द्रनारायण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

यादवलाई साढे १० बजेतिर गोली लागेपनि शुरुमा उनकै साथीहरुले लुकाएर राखेका थिए । गोली लागेका उनलाई पछि प्रहरीले नै एम्बुलेन्समा राखेर हस्पिटल पुर्याएको बताइन्छ  ।

टिप्पणीहरू