प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
समावेशी प्रणालीबारे प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार रहेको ठहर गर्दै त्यसविरुद्ध संयुक्त नागरिक पार्टी सडकमा ओर्लिन लागेको छ । भोलि दिउँसो माइतीघर मण्डलामा एक घण्टा विरोध प्रदर्शन गर्न लागिएको हो ।
आइतबार सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी सिद्धान्तको विरुद्धमा धारणा राखेका थिए । राजनीतिक पदमा पुग्नका लागि मात्रै समावेशिता अभ्यास गरिएको उनले टिप्पणी गरेका थिए ।
नेपालको संविधानले नै समावेशी सिद्धान्तलाई अङ्गीकार गरेको तथ्यलाई अन्देखा गर्दै प्रधानमन्त्रीले समावेशी प्रतिनिधित्वले भन्दा क्षमता विकासले मात्रै सहभागिता बढ्ने दाबी गरेका थिए । संविधानको मर्म र भावना विपरित उनले समावेशीताबारे बहकिएर कुरा गर्ने गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
प्रमको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संन्युक्त नागरिक पार्टीले भोलि दिउँसो मण्डलामा खबरदारी कार्यक्रम गर्न लागेको जनाएको छ । सो पार्टीको मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभागले आज विज्ञप्ति सार्वजनिक गर्दै उक्त अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न भनेको छ । अन्यथा समावेशी लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
'संविधानको रक्षा र कार्यान्वयन गर्नुपर्ने दायित्व लिएको सरकार प्रमुखको स्थानमा बसेको व्यक्तिले नै संविधानको मूल्य र मान्यता विपरित बोल्नु कानूनी तथा नैतिक रूपमा अस्वीकार्य छ', विज्ञप्तिमा भनिएको छ, 'यो असंवैधानिक अभिव्यक्तिप्रति आत्मालोचना गर्दै फिर्ता लिन तथा जिम्मेवार बन्न प्रधानमन्त्री केपी ओलीलाई हामी चुनौती दिन्छौँ ।'
मुलुकमा अहिले विद्यमान मीटरब्याज पीडितदेखि बाढीपहिरो प्रभावितसम्मका जल्दाबल्दा समस्यामा केन्द्रित रहनुपर्ने सरकार प्रमुख जिम्मेवारीबाट बरालिएर जथाभावी बोल्दै हिँडेको सो पार्टीको ठहर छ ।

टिप्पणीहरू