सिंहदरबारमा श्याम र सुमनाकाे भनाभन
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठबीच चर्काचर्की परेको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दुई जनाबीच भनाभन भएको हो । समितिका सभापति अम्मरबहादुर थापाले पूर्व शिक्षामन्त्री समेत रहेकी सुमनालाई बोल्न समय दिएका थिए । त्यसपछि उनले बोल्दै गर्दा श्यामले बिचैमा खण्डन गरेपछि भनाबैरी चलेको हो ।
‘उपसमितिले यति राम्रो बुँदा राखेको थियो, तर त्यही बुँदा हटाउने गरी किन लम्बेतान भयो, १६ गते पास हुनुपर्ने कानुन..’ सुमनाले भनिन्, ‘अब त छर्लंग भयो नि त यो प्रतिवेदन कसको लागि रोकिएको रहेछ भनेर, विद्यार्थीको लागि त रोकिएको होइन रहेछ, यसरी त हुँदैन सभापतिज्यू !’
सुमनाले बोलिरहँदा प्रमुख सचेतक घिमिरेले माइकबिना नै खण्डन गरे । तर, सुमना रोकिइनन्, ‘यो दोहोरी खेल्ने हो भने झन गज्जब हुन्छ सभापतिज्यू ।’, त्यतिकैमा घिमिरेले आक्रमक बन्दै भने, ‘मैले रोक्या हो ? के भन्या त्यो ? मैले गर्या हो ? के भन्न खोजेको ? जे पायो त्यही बोल्ने ?’
फेरि सुमनाले भनिन्,‘मैले तपाईको नाम लिएको छु र ?’ घिमिरे पनि रोकिएनन्, ‘के भन्न खोज्यो त ? कसले गर्दा रोकियो ? क्यामेरा देखेपछि जे पायो त्यही बोल्ने ?’
भनाभन बढ्न थालेपछि शिक्षामन्त्री रघु पन्तले सँगै रहेका श्यामलाई कोट्याएर शान्त हुन आग्रह गरे । हात समाएर थमथम्याउने प्रयास गरे । त्यसपछि समितिका सभापति थापाले सबैलाई रोकेर बैठक अघि बढाए ।
टिप्पणीहरू