झ्यालखानाबाट निस्किने रविको प्रपञ्च

झ्यालखानाबाट निस्किने रविको प्रपञ्च

सहकारी ठगी प्रकरणमा झ्यालखानाबाटै पुर्पक्षको सजाय काटिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा पौने तीन करोड रुपैयाँ बराबरको बैंक जमानत पेश गरेका छन् । 

आफूलाई थुनामुक्तको माग गर्दै उनले बिगो बराबर बैंक जमानत अदालतमा बुझाएका हुन् । रविले दुई करोड ७४ लाख ८४ हजार बैंक जमानत पेश गरेको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले पुष्टी गरे । 

जनआस्थासँगको कुराकानीमा भने, ‘निवेदन दिएको दिन नै उहाँले बैंक जमानत पेश गरिसक्नुभएको छ, बाँकी निर्णय इजलासले गर्छ ।’ अर्यालका अनुसार निवेदनमा उनले आफूमाथि प्रतिशोध साँधिएको तर्क गरेका छन् । 

जिबि राई समूहले बुटवलको सुप्रिम सहकारीको करोडौँ रकम गोरखा मिडिया नेटवर्क प्रालिमा गैरकानुनी तवरले लगानी गरेको यो प्रकरणमा रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसूर लगाइएको छ । यसअघि जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा छोड्न आदेश गरेको थियो । 

तर, उक्त रकम धेरै भएको र आफू साधारण तारिखमा छुट्नुपर्ने जिकिर रवि उपल्लो अदालत गुहार्न पुगे । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएपछि चैत २५ देखि उनी भैरहवा कारागारमा छन् । 

त्यसविरुद्ध उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गरिनुपर्ने माग गर्दै सोमबार निवेदन दर्ता गराएका हुन् । साउन ४ गते रास्वपा सांसदहरु संसदीय दलको बैठक बस्न भन्दै भैरहवा पुगेका थिए । सोही दिन अदालतमा निवेदन दिनेबारे सल्लाह भएको बुझिन्छ । 

यता, रास्वपाले चलाएको चन्दा संकलन अभियानमार्फत् जुटेको पैसा रविपत्नी निकिता पौडेल लामिछानेको बैंक खातामा पठाउने गरिएको विषय खुलेको छ । उक्त पैसा बैंक जमानतका लागि प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू