विद्रोहको औचित्य छैन भन्नेलाई ओलीको सेवा गरेर बस्न सल्लाह
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिनुभएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उहाँले विद्रोहको औचित्य सिद्ध नभएको भन्ने खनाललाई उक्त सुझाव दिनुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले हालै एउटा टेलिभिजन अन्तर्वार्तामा एमालेबाट फुट्नुको औचित्य स्थापित नभएको जनाउँदै नेतृत्वको निन्दा गर्नुभएको थियो । त्यसपछि नेता-कार्यकर्ता आरोप प्रत्यारोपमा उत्रँदा पार्टीमा विवाद चर्किएको छ ।
यस सन्दर्भमा झलनाथको नाम उच्चारण नगरिकन अध्यक्ष नेपालले विद्रोह गरेर बनाएको पार्टीमा बसेर विद्रोहको औचित्य छैन भन्नु अनुशासनहीन कुरा हो भन्नुभयो । त्यस्ता मान्छेले केपीको सेवा गरेर बस्दा हुन्छ भन्ने तर्क उहाँको रह्यो ।
'मिडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपपर्यो ?', अध्यक्ष नेपालले भन्नुभयो, 'विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि ।'
केपीले पटक-पटक संसद विघटन गरेर संविधान मिच्न खोजेको र त्यसलाई रोक्न पार्टीबाट विद्रोह गरेकाले विभाजनको औचित्य पुष्टि भैसकेको उहाँले जिकिर गर्नुभयो । संसद विघटन गरेको कारण नै एमालेबाट विद्रोह गरेर नयाँ राजनीतिक दल बनाउनुपरेको स्पष्टोक्ति छ ।
'कसैले पार्टीको अनुशासन उल्लंघन गर्दछ, जथाभावी संविधान मिच्ने काम गर्दछ, संविधान मिचेर संसद भंग गर्दछ । भंग गरेको संसदलाई गफ गरेर पुनः स्थापना हुँदैन । त्यसलाई विधि र प्रक्रियाबाट पुनः स्थापना गर्न सकिन्छ । तर कस्ता पात्रहरु ज्याद्रा छन् भने दोस्रो पटक भंग गरे । फेरि हामी दोस्रो पटक लाग्नुपर्यो । त्यो गरेर गल्ती गरियो ? विद्रोह गर्नु हुँदैन थियो । केपीजीको चाकरी गरेर त्यहाँ बस्नुपर्दथ्यो ? कि के गर्नुपर्दथ्यो ?' प्रश्न गर्दै आफैँले जवाफ दिनुभयो, 'ठिक गर्यौँ हामीले । संविधान जोगाउने मात्रै होइन, कम्युनिष्ट आन्दोलन बद्नाम गर्ने काम भइरहेको थियो । हामीले रहरले त्यो पार्टी छोडेको होइन ।'
अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलनलाई आफूहरुले जोगाएर ल्याएको दाबीसमेत गर्नुभयो । पार्टीको हित र पक्षमा मात्रै सञ्चारमाध्यममा अभिव्यक्ति दिन उहाँले नेता-कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।
टिप्पणीहरू