कन्सल्टेन्सीको अवैध कागजपत्रमा विदेश पुगेपछि विद्यार्थीको छोडपत्र

कन्सल्टेन्सीको अवैध कागजपत्रमा विदेश पुगेपछि विद्यार्थीको छोडपत्र

हिजोआज प्लस टु सकिएलगत्तै विदेशको शैक्षिक सपना पूरा गर्न युवाहरू शैक्षिक परामर्शदाता संस्था (कन्सल्टेन्सी) पुग्ने गरेका छन् । काठमाडौं उपत्यकासहित देशभर कन्सल्टेन्सी छ्यापछ्याप्ती खुलेका छन् । पछिल्लो समय फस्टाएको मुख्य व्यवसाय नै कन्सल्टेन्सी भएको बताइन्छ ।

शहरका घरैपिच्छे खुलेका कन्सल्टेन्सीको काम हो विदेश पढ्न जाने युवालाई सहजीकरण गर्नु। तर, ‘देखाउने दाँत एउटा, चपाउने अर्कै’ भनेझैं कन्सल्टेन्सीहरूको पनि बाहिरी र भित्री रूप अलग्गै रहेको पाइन्छ ।

युवालाई विदेशमा पढ्न जान सहजीकरण गरिदिने भन्दै जताजतै खुलेका कन्सल्टेन्सीहरूको अवस्था लथालिंग भेटिन्छ। न दर्ता भएका छन्, न विद्यार्थीहरूसँग लिने शुल्कमै एकरूपता छ। यति मात्र होइन, कन्सल्टेन्सीको नाममा गैरकानुनी धन्दा मौलाइरहेको बताइन्छ ।

जसबारे राज्य बेखबर हो कि जानाजानी अन्जान बनेको हो? प्रश्न उठेको छ। देशभर कति कन्सल्टेन्सी छन्? कुन कन्सल्टेन्सीले विद्यार्थीहरूसँग कति शुल्क असुलिरहेका छन् ? राज्यका निकायलाई अत्तोपत्तो छैन। कन्सल्टेन्सीका हरेक गतिविधिबारे सरकारी संयन्त्र बेखबर देखिन्छन् ।

यद्यपि, पछिल्लो समय भने राजधानीका केही अवैध कन्सल्टेन्सी कारबाहीमा परेका छन् । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गएको दुई सातामा दर्ताबिनै सञ्चालित काठमाडौंका तीन दर्जन कन्सल्टेन्सीमाथि कानुनी डण्डा चलाएको हो।

ती कन्सल्टेन्सीलाई ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ। व्यापक जनगुनासोपछि अनुगमनमा होमिएको विभागले अवैध कन्सल्टेन्सीलाई कारबाहीको नाममा जरिवाना तिराउने मात्र काम गरिरहेको छ। बन्द गराउनुको साटो धमाधम जरिवानाको भरमा छोडिरहेको छ, जसले कन्सल्टेन्सीहरूको ठगी र अवैध धन्दा नरोकिने देखिन्छ।

भ्रम फैलाउँदै, युवा विदेश पठाउँदै

‘विदेश जानु नै लाइफ चेन्जिङ डिसिजन’, ‘प्लस टु सकिएपछि को नेपाल बस्छ?’, ‘सिधै क्यानडा, अमेरिका, अस्ट्रेलिया’, ‘नेपालमा बसेर केही हुँदैन’, ‘अष्ट्रेलिया जानुस्, भविष्य बनाउनुहोस्’ जस्ता विज्ञापन सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन्।

यति मात्र होइन, क्याम्पस तथा परीक्षा केन्द्र क्षेत्रमा यस्तै लेखिएका पर्चा बाँड्ने कन्सल्टेन्सीका कर्मचारीहरूको बिगबिगी हुने गरेको छ। उनीहरूले पर्चा मात्र बाँड्दैनन्, विद्यार्थीको नाम र नम्बरसमेत टिप्छन्।

अनि प्लस टुको नतिजा लगत्तै विदेश जान भन्दै फोन गर्छन्। उच्च शिक्षा हासिल गर्न विदेश जाने–नजाने सम्बन्धित विद्यार्थीको स्वेच्छा हो। तर कन्सल्टेन्सीहरूले आफ्नो फाइदाका निम्ति युवाहरूमा ‘देशमा बसेर केही गर्नै सकिन्न’ भन्ने भ्रम फैलाइरहेका छन्।

मन–मष्तिष्कमै त्यही कुरा बसेपछि लहैलहैमा लागेर अधिकांश युवा वैदेशिक शिक्षाको बाटोतर्फ लागिरहेका छन्। त्यसरी पढ्न भन्दै गएका युवाहरू केही वर्षपछि उतै सेटिङ्ग हुँदा मुलुकलाई नै असर परिरहेको छ।

ठगीको शिकार बन्दै विद्यार्थी

विदेशमा पढ्न जान सहजीकरण गरिदिने नाममा कन्सल्टेन्सीहरूले विद्यार्थीहरूसँग मनलाग्दी शुल्क असुलिरहेका छन्। विद्यार्थीहरूसँग लाखौं असुल्ने तर विदेश नै नपठाउने वा सम्पर्कविहीन हुने गरेको घटना पनि थुप्रै पाइन्छन्। सहजीकरणको नाममा कन्सल्टेन्सीहरूले विद्यार्थीलाई ठगीरहँदा सरकार भने मौन देखिन्छ।

यतिसम्म कि कुन कन्सल्टेन्सीले विद्यार्थीबाट कति पैसा असुल्छन् र बैंक स्टेटमेन्ट के छ? भनेर सरकारलाई पत्तो छैन। कानुन पालनामा कमजोरसँगै गैरकानुनी र ठगीधन्दामा संलग्न कन्सल्टेन्सीमाथि फेरि राज्यका नियामक निकाय न अनुगमन गर्छन्, न कारबाही। केही गरी कारबाही गरिहाले पनि जरिवाना तिराएर छोडिदिने प्रवृत्ति कायम छ।

कन्सल्टेन्सी संख्याबारे राज्य नै बेखबर

मुलुकमा सञ्चालित कन्सल्टेन्सीको यकिन संख्याबारे राज्य नै अनभिज्ञ देखिन्छ। शिक्षा ऐन, २०२८ ले शैक्षिक परामर्श संस्था दर्ताको अधिकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई मात्र दिए तापनि पछिल्लो समय प्रदेशको सामाजिक विकास मन्त्रालयले समेत गर्न थालेपछि देशभर कति कन्सल्टेन्सी सञ्चालनमा छन्? भन्नेबारे सरकारी निकाय बेखबर छ।

हाल देशभर पाँच हजारको हाराहारीमा कन्सल्टेन्सी सञ्चालन भइरहेको बताइन्छ। तर, कानुनी रूपमा सञ्चालित कन्सल्टेन्सीको संख्या सात सय २० मात्र रहेको शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयमा दर्ता भएका कन्सल्टेन्सीको संख्या एक हजार चार सय ७३ वटा भए तापनि सात सय २० वटा मात्र नवीकरण भएका छन्।

वर्षेनी नवीकरण गराउनुपर्ने व्यवस्था भए तापनि कन्सल्टेन्सीहरूले अटेरी गर्ने गरेको मन्त्रालय मातहत शैक्षिक परामर्श शाखा प्रमुख सेमन्त कोइरालाले जानकारी दिए । कन्सल्टेन्सीको लापरबाही धेरै नै रहेको उनी स्वीकार्छन् ।

‘दर्ता नहुने, कानुनविपरीत काममा समेत कन्सल्टेन्सीहरू संलग्न भएकोबारे हामी जानकार छौं। यस्ता गुनासो, उजुरी मन्त्रालयमा अधिक दर्ता हुन्छन्। तर, हामीले मात्र कारबाही गर्न सक्दैनौं। गृह र अन्य निकायको सहयोग आवश्यक छ,’ कोइरालाले भने।

किर्ते र मानव तस्करीमा पनि कन्सल्टेन्सी

नेपालीमा विदेशप्रतिको मोह बढिरहँदा मानव तस्करीका घटना बढ्दै गएका छन्। अवैध रूपमा विदेश पठाउने र बेचबिखन तथा अलपत्र पार्ने क्रम ह्वात्तै बढेको छ । यस्तो गैरकानुनी धन्दामा कन्सल्टेन्सीहरूको समेत संलग्नता देखिने गरेको छ। अर्थात्, कन्सल्टेन्सीहरू ठगीमा मात्र सीमित छैनन्, किर्ते र मानव तस्करीमा समेत यस्ता संस्थाको संलग्नता बढ्दो छ ।

प्रायः दर्ता नभएका कन्सल्टेन्सीले नक्कली कागजात बनाएर मानव तस्करी गरेको भेटिन्छ, भने दर्ता भएकै कन्सल्टेन्सीले समेत कागजात पूरा नबुझाई विदेश पठाउने काम गरिरहेका छन् । केही महिनाअघि चितवनमा दर्जनौं कन्सल्टेन्सीले नक्कली कागजात बनाएर विदेश पठाउने धन्दा गरेको पाइएको थियो ।

यता, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले कन्सल्टेन्सीहरूले नक्कली कागजात बनाएर विदेश पठाउने गरेको बताउँछन् । उनका अनुसार कन्सल्टेन्सीको आडमा मानव तस्करी गर्ने क्रम बढ्दो छ। ‘विदेशमा केटा भएमा नक्कली बिहेको कागजपत्र बनाएर यताका केटीलाई पनि पठाइन्छ। फेरि त्यहाँ पुगेपछि चाहिँ अलग्गिएर बस्ने, अर्कैसँग बिहे गर्ने वा काम नपाएपछि बिचल्लीमा परेका घटना पनि छन्,’ एसपी खड्काले भने ।

टिप्पणीहरू