कैलाली कारागारको अवस्था तनावग्रस्त, काठमाडाैंमा छलफल, धनगढीमा छानबिन समिति
गएरातिको भीडन्तमा जिल्ला कारागारका एक जना कैदीको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ । तनावग्रस्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।
उता कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी नायव उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको समितिलाई १० दिनको समय दिइएको छ ।
गएरातिको भीडन्तमा ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ चार दर्जन घाइते छन् । लागुऔषध मुद्दामा थुनामा रहेका चौधरीको सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको बताइन्छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
सात सयभन्दा बढी कैदीबन्दी रहेको कारागारमा कैदी सरुवाको विषयमा पटक पटक झडप हुँदै आएको बताइन्छ । गएराति भीषण आक्रमण र प्रत्याक्रमणमा उक्त घटना भएको हो ।
टिप्पणीहरू