लथालिङ्ग हालतमा विराटनगर नगरप्रहरी
पुगनपुग अढाई लाख जनसंख्या र ५० हजार घरधुरी भएको विराटनगर महानगरपालिकामा रहेको नगरप्रहरीको अवस्था दयनीय देखिन्छ । ५० जनाको दरबन्दी भएपनि हाल एक प्रहरी निरीक्षकसहित १८ जना मात्र कार्यरत छन् ।
जनशक्ति अभावका कारण आन्तरिक सुरक्षा, अवैध उत्खन नियन्त्रण, फुटपाथ व्यवस्थापन, फोहरमैला संकलन, विपद् उद्धार र पुरातात्विकस्थल संरक्षणजस्ता कार्य प्रत्यक्ष रुपमा प्रभावित भएको पाइन्छ । महानगरले नौ महिनाअघि ३५ पदका लागि गरेको विज्ञापनमा चार सय ९८ आवेदन परेको बताइन्छ । नगरप्रहरी प्रमुख निरीक्षक राजन पौडेलका अनुसार, पर्याप्त जनशक्ति र स्रोत भएमा धेरै समस्या सजिलै नियन्त्रण गर्न सकिन्छ, तर हाल ‘जेनतेन टालटुल’ काम गर्न बाध्य अवस्थामा छौं ।
बस्ने भौतिक प्रबन्धको समेत अभाव छ । प्रहरी फाउन्टेन पार्कको साँघुरो टिकट काउन्टरमा बस्दै आएको टोलीले सवारी साधन सडकमै पार्किङ गर्नुपर्ने, नियन्त्रणमा लिएका सामान खुला चौरमा राख्नुपर्ने, प्रशासनिक र तालिम गतिविधिमा कठिनाइजस्ता समस्या प्रत्यक्ष रुपमा भोगिरहेको छ ।
मेयर नागेश कोइरालाले आन्तरिक आम्दानी घटेका कारण नियुक्ति प्रक्रिया अघि बढाउन नसकिएको बताए । अघिल्लो वर्षको ६७ करोडको आम्दानी घटेर गत वर्ष ५३ करोड ५० लाखमा सीमित भएपछि अन्य योजनासँगै यो प्रक्रिया पनि रोकिएको हो ।
नगर प्रहरीको व्यवस्था २०५४ सालदेखि भएपनि उनीहरुका लागि व्यवस्थित भवन निर्माण आजसम्म भएको छैन । वीरेन्द्र सभागृह पुनर्निर्माणपछि उनीहरू अस्थायी र असुविधाजनक स्थानमा बस्न बाध्य भएका हुन् । नयाँ महानगर भवनमा उनीहरुका लागि छुट्टै ब्लक बनाउने योजना भए पनि पूरा हुन वर्षौं लाग्ने देखिएको छ ।
टिप्पणीहरू