शुरू भयो गाईजात्रा

शुरू भयो गाईजात्रा

आज देशभर गाईजात्रा पर्व मनाइँदै छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो पर्व आजको दिन काठमाडौं उपत्यकामा विशेषपूर्वक मनाइन्छ ।

पछिल्लो एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराइन्छ । गाई र गाई बनेकालाई दूध, फलफूललगायत अन्न, नगद दान गरिन्छ । 

राजा प्रताप मल्लको पालामा पुत्र वियोगले शोकमा डुबेकी रानीलाई संसारमा सबैलाई दुःख भोग्नु पर्छ भन्ने देखाउन राजाले जनतालाई दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा निकाल्न आदेश दिएपछि प्रचलन शुरु भएको मानिन्छ । त्यसबेलादेखि काठमाडौंको हनुमानढोका वरपर गाईजात्रा निकाल्ने परम्परा बसेको हो ।

काठमाडौं बाहेक मुलुकका नेवार बस्ती रहेका बनेपा, पनौती, धुलिखेल, त्रिशूली, दोलखा, इलाम, पोखरा, पाल्पालगायत स्थानमा पनि गाईजात्रा निकालिन्छ । आजको दिन हास्यव्यङ्ग्य पनि गर्ने प्रचलन छ ।

टिप्पणीहरू