चीनको पुरस्कार, नेपाली विद्यार्थीको आभार

चीनको पुरस्कार, नेपाली विद्यार्थीको आभार

‘डेढ दुई दशकअघि म चीनको एउटा गाउँ गएको थिएँ,त्यतिबेला त्यो गाउँ हाम्रै देशको कुनै दुर्गम गाउँजस्तै थियो, तर म पछिल्लोपटक त्यहाँ पुग्दा कल्पना नै गर्न नसकिने विकास भइसकेको रहेछ,आखिर चीनले विकास र क्रान्ति यति छिटो कसरी सम्भव बनाउँछ ?’, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जिज्ञासा राखेपछि नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र चिनियाँ भाषाका शिक्षकहरुको मुहारमा मन्दमुस्कान छायाे । मन्त्री पन्तले चीनलाई विश्वकै ठूलाे ‘अर्थ शक्ति’ भनेपछि झन् उनीहरूकाे तालीले एकछिन साेल्टी (हाेटल)काे सभा हल नै गुञ्जायमान सुनियाे ।  

जापानी हस्तक्षेपको प्रतिरोध र फासीवादविरोधी युद्धमा विजय भएको ८०औँ बर्ष पारेर चिनियाँ दूतावासले हिजो (आइतबार) साँझ आयोजना गरेको समारोहमा देखिएको दृश्य हो यो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले नेपाल र चीनबीचको सम्बन्ध चुम्बकजस्तो भएको बताउनुभयो । चीनको अदम्य साहस र महत्वाकांक्षाबाट नेपालले धेरै कुरा सिक्न सक्ने उहाँको भनाई थियो । ‘चीन विस्तारै विश्व व्यवस्थाको निर्णायक बन्दै गएको छ’,मन्त्री पन्तले भन्नुभयो, ‘नेपालको विकासमा चीनले जुन भूमिका खेलेको छ,त्यो भूमिका अन्य देशले सायदै निभाएका होलान् ।’

मन्त्री पन्तले दुई देशबीचको सहकार्यमा शिक्षा क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सकिने समेत बताउनुभयो । ‘विश्वका प्रख्यात विश्वविद्यालयको सूची हेर्ने हो भने धेरै विश्वविद्यालय चीनका देखिन्छन्’, उहाँले थप्नुभयो, ‘हाम्रा विश्वविद्यालय र चीनका विश्वविद्यालयबीच सहकार्य गरेर अघि बढ्ने हो धेरै लाभ लिनसक्छौँ ।’

मन्त्री पन्तले दुई देशबीचको कूटनीतिक सम्बन्ध र साम्राज्यवादविरुद्ध चीनको लडाइँबारे आफूले प्रशस्त लेख लेखन तथा सम्पादन गरेको पनि स्मरण गर्नुभयो । ‘म अहिले मन्त्री छु,तर कुनै बेला पत्रकार तथा सम्पादक थिएँ’, उहाँले सुनाउनुभयो, ‘त्यतिबेला दुई देशको सम्बन्धबारे लेखेका आर्टिकलहरु,साम्राज्यवाद र प्रतिगामी शक्तिविरुद्ध चीनको संघर्षबारे लेखेका सामग्रीहरु अहिले पनि मलाई सम्झना आइरहेको छ ।’ 

शिक्षा,प्रविधि,विज्ञान,अनुसन्धान लगायतका क्षेत्रमा दुई देशबीच सहकार्य अपरिहार्य बन्दै गएको मन्त्री पन्तको विश्लेषण छ । 

‘चिनियाँको डायरीमा आत्मसमर्पण छैन’ 

राजदूत छन् सोङले पनि नेपालसँग सहकार्य गर्न चीन सधैँ सकारात्मक रहेको बताउनुभयो । साथै,शान्तिपूर्ण विकास नै चीनको विशेषता रहेको उहाँको भनाई छ । 

‘दुई देशको इतिहास आफैमा गौरवान्वित छ,हामी ती इतिहासलाई प्रेम र सम्मान गछौैँ’, उहाँले भन्नुभयो, ‘सिपिसी (कम्युनिष्ट पार्टी अफ चाइना)ले ल्याएको शान्तिपूर्ण विकासको अवधारणामा रहेरै आज चीन अघि बढिरहेको छ ।’

राजदूत छन् सोङले शान्तिको महत्वबारे चिनियाँ जनता गहिरो जानकारीमा रहेको पनि बताउनुभयो । ‘हरेक देशले कुनै न कुनै ठूलो युद्ध भोग्नुपरेको छ, हामीले पनि क्रुर जापानी सैन्य कारवाहीलाई नजिकबाट नियालेका छौैँ’,यद्यपि उनीहरु सफल हुन सकेनन्, जापानी आक्रमणविरुद्ध जनताले जुन संघर्ष गरेका छन्,त्यसले पनि उनीहरुलाई शान्तिको महत्व कति हुन्छ भनेर राम्ररी बुझ्न सहयाेग गरेकाे छ’, उहाँले थप्नुभयाे । 

चिनियाँ नागरिकको डायरीमा आत्मसमर्पण भन्ने कुरा नै नरहेको पनि छन् सोङले बताउनुभयाे । अघि भन्नुभयाे, ‘जापानी तोपसँग चिनियाँहरु कहिल्यै डराएनन्,भावीपुस्ताको आशा र भरोशालाई कायम राख्न उनीहरुले आत्मसमर्पणको विचार कहिल्यै गरेनन्, किनकि उनीहरूकाे डायरीमा आत्मसमर्पण भन्ने शव्द नै छैन।’

पुरस्कार वितरणपछि अभिभावक दंग

जापानी आक्रमणविरुद्धको लडाइँ र फासीवादविरुद्धको संघर्ष सफल भएको ८०औँ स्मृतिमा चिनियाँ दूतावासले विद्यार्थीहरुको लागि पाँच विधामा प्रतियोगितासमेत आयोजना गरेको थियो । नृत्य,गीत,चित्रकला,वक्तृत्वकला र भेषभुषाको प्रतियोगितामा राजधानीका एक दर्जन बढी विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगिताका विजेताहरुलाई मन्त्री पन्त र राजदूत छन् सोङले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभयाे । 

चिनियाँ दूतावासले माध्यामिक तहका विद्यार्थीहरुको लागि अन्तराष्ट्रियस्तरकै प्रतियोगिता आयोजना गरेको भन्दै अभिभावकहरुले समेत खुशी व्यक्त गरेका छन् । युलेन्स स्कुलमा छोरो पढाइरहेका सुबोध अधिकारीले चिनियाँ दूतावासको कार्यक्रमले विद्यार्थीहरुलाई विश्व परिवेशसँग घुलमिल हुन ठूलो सहयोग गरेको बताउनुभयाे । ‘आजसम्म नेपालको कुनै पनि संस्थाले विद्यार्थीहरुको लागि यो स्तरको कार्यक्रम गरेको छैन’, उहाँले भन्रुभयाे, ‘चीनले कम्तिमा यो स्तरको कार्यक्रम गरेर विद्यार्थीको सोच र विचारलाई फराकिलो बनाइदियो,हामी खुशी छाैँ।’

टिप्पणीहरू