सम्मानित नेतालाई घुमाउरो चेतावनी

सम्मानित नेतालाई घुमाउरो चेतावनी

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक सभा समारोहमा जथाभावी नबोल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । आयोगले पार्टीको सिद्धान्त र विधान विपरित गतिविधि गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । 

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच ‘वाक युद्ध’ चलिरहेको पृष्ठभूमिमा आयोगका अध्यक्ष शिवबहादुर देउजाले जारी गरेको विज्ञप्तिमा उक्त व्यहोरा उल्लेख छ । ‘हाम्रो पार्टी जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक सिद्धान्त र त्यसको आधारमा तयार गरिएको विधानअनुसार चल्ने अनुशासित पार्टी हो’, नेता खनाललाई संकेत गर्दै पत्रमा भनिएको छ, ‘तर यो कुरालाई कतिपय जिम्मेवार कमरेडहरुले नै उल्लंघन गर्ने प्रवृति विगत केही समययता एकपछि अर्को गरी देखापरेकोमा अनुशासन आयोगको ध्यानाकर्षण भएको छ ।’

पार्टीको आधिकारिक धारणाभन्दा बाहिर गएर नबोल्न पनि पत्रमार्फत् निर्देशन दिइएको छ । थप भनिएको छ, ‘सञ्चार माध्यम, सार्वजनिक भेला तथा कार्यक्रमहरुमा पार्टीबाट निर्णय नभएका आफ्ना नीजि विचारहरु कुनै पनि वाहनामा राखेर अराजक शैलीको अवलम्बन गरी कार्यकर्ता र जनतामा भ्रम र निराशा पैदा हुने काम नगर्न र नगराउन पार्टीका माथिदेखि तलसम्मका कमरेडहरुलाई आयोग निर्देशन गर्दछ ।’ 

यसरी सचेत गराउँदा पनि कसैले गल्ती दोहोर्याएमा पार्टीको विधान अनुसार कारवाही गरिने आयोगले जानकारी गराएको छ ।

टिप्पणीहरू