रविका लागि निकिताले अन्तर्राष्ट्रिय अदालत गुहार्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछाने सरकारविरुद्ध अन्तराष्ट्रिय अदालत जाने भएकी छन् । श्रीमानमाथि सरकारले साँधेको प्रतिशोध दाबी गर्दै उनले न्यायका लागि अन्तराष्ट्रिय अदालत गुहार्ने बताएकी हुन्।
निकिताले सामाजिक सञ्जालमा राखेको स्टाटसमा अहिले कानुनी परामर्श गरिरहेको जनाउँदै अन्तराष्ट्रिय अदालतमा पहुँच हुनेहरुसँग सहयोगको अपेक्षासमेत गरिएको छ ।
‘म कानुनले दिएका, संविधानले दिएका सबै ढोकाहरू निरन्तर ढकढक्याउँछु, मलाई अन्तराष्ट्रिय अदालतमा यो अन्यायविरुद्ध बोल्नका लागि मद्दत चाहिने भएको हुनाले पहुँच पुगेका व्यक्तिहरूले मद्दत गर्नुहोला’, उनले लेखेकी छन्, ‘ न्याय पाउँछु वा पाउँदिन थाहा छैन, तर म जान्छु, अन्तराष्ट्रिय अदालत जान्छु, न्याय नपाउन्जेल लड्छु ।'
निकिताले गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै आफ्नो जासुसी गर्नुको कारण पनि सोधेकी छन् । पती रविलाई जेल सरुवा नगरिएकोमा पनि उनको आक्रोश छ ।
‘अदालतले अड्डासारको आदेश गर्दा पनि तपाईको निर्देशनमा रोकिन्छ, किन ? अदालतमा मुद्दाको पेशी चढेपछि तपाईकै निर्देशनमा तपाईकै मान्छेबाट न्याय परिषद्मा उजुरी पर्छ, किन ?’, निकिता सोध्छिन्, ‘न्यायालयलाई खुल्लमखुल्ला धम्क्याउने यो आँट तपाईलाई कहाँबाट आउँछ ? रुपन्देही कारागारमा श्रीमान भेट्न घरबाट निस्किएपछि मेरो पछि पछि किन र के का डरले लगाउनुहुन्छ तपाईको संगठन र संरचना ?’
निकिताले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई पनि आत्मसमीक्षा गर्न सल्लाह दिएकी छन् ।
‘मेरो श्रीमानले आफ्नो अपीलमार्फत् भन्नुभएको छ कि राज्यका सबै निकायलाई यिनीहरुले कब्जा गरेका छन्, सबै निकाय एउटै रावणका टाउका हुन्’, उनले अघि भनेकी छन्, ‘तपाईको कार्यकाल बाँकी छँदै आफ्नो कार्यकालमा भएको खुल्ला अन्यायबारे सोच्नुहोला, कार्यकाल सकिएपछि छाप्ने पुस्तकले न्याय दिँदैन, कार्यकाल छँदै लेखेको आदेशले दिने हो न्याय।’
टिप्पणीहरू