कैदीका लागि खर्च बढेकोमा माननीयको चिन्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमले कैदीबन्दीलाई जेलमा थुनेर राज्यको अर्बौं रकम खर्च भैरहेको भन्दै गुनासो गरेकी छन् । उनीहरुलाई उत्पादनमा जोड्नुपर्ने उनको जोड छ ।
प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितको बैठकमा उनले आज यस्तो धारणा राखेकी हुन् । सरकारी तथ्याङ्ककै आधारमा हिसाव गर्दा कैदीबन्दीको खाना, स्वास्थ्य, न्याय लगायतका क्षेत्रमा २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ वार्षिक खर्च हुने गरेको बताइन ।
‘मैले सरकारले नै दिएको तथ्याङ्कलाई यसो हिसाब गरेर हेर्दा यहाँ के लेखिएको छ भने गत वर्ष भएको खर्चका आधारमा प्रतिकैदी वार्षिक लागत ७९ हजार १ सय ९८ रुपैयाँ भनेर लेख्नुभएको छ’, सोविताले भनिन्, ‘यो जुन तथ्याङक छ, त्यसमा अहिले कति कैदीबन्दी छन् भनेर हिसाब गर्दाखेरी वार्षिक रुपमा हाम्रो खर्च यो तथ्याङ्कको आधारमा २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ हुँदो रहेछ ।’
तथ्यांकअनुसार देशभर हाल २७ हजार कैदीबन्दी रहेका छन् । सरकारले गतवर्ष प्रतिकैदी ७९ हजार १ सय ९८ रुपैयाँ खर्च गरेको थियो । सोविताका अनुसार मान्छे थुनेर दुई अर्ब वार्षिक खर्च गर्नु भनेको राज्य कोषमाथिको ठूलो भार हो ।
‘यो ठूलो खर्च हो । दुई अर्ब भनेको त हामीले के-के धेरै कुराहरु गर्न सकिन्थ्यो होला । दुई अर्ब रुपैयाँ हामीले कैदीबन्दीलाई उनीहरुको व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरुमा खर्च गर्नु । राज्यले यसरी थुनेर राख्दाखेरी गर्ने यो खर्च ठूलो हो । यसमा भवनको खर्च, प्रसासनिक खर्च झन कति आउँदो हो’ , उनले थपिन्, ‘बजेट छैन हामी भनिराख्छौ, एकातिर यो ठूलो खर्च छ, यो खर्चको व्यवस्थापन चाहीँ वैज्ञानिक हिसाबले गरिएन भने हामीले सधैभरी विलौना गरेर समस्याको समाधान हुन्छ त ? भन्ने पेचिलो प्रश्न हो ।’
कैदीबन्दीलाई उत्पादनसँग जोड्न आवश्यक रहेकोमा जोड दिँदै उनले अहिलेसम्म त्यसो गर्न नसकेकोमा प्रश्न उठाईन् । केही कैदीबन्दीले गरेका उत्पादनले पनि बजार नपाएकाले राज्यले ध्यान दिनुपर्नेमा सोविताको विशेष जोड रह्यो ।
टिप्पणीहरू