उग्र रुप लिँदै राप्रपाको किचलो, लिङ्देन र राणा आमनेसामने

उग्र रुप लिँदै राप्रपाको किचलो, लिङ्देन र राणा आमनेसामने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच चलिरहेको द्वन्द्व थप चर्किएर जाने देखिएको छ । पार्टी निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघकोको काठमाडौँ जिल्ला अधिवेशनको दृश्य र त्यसपछि व्यक्त प्रतिक्रियाले गुटगत लडाइँ उत्कर्षमा पुगेको निष्कर्ष निकाल्न सकिन्छ । 

किचलो बेलैमा साम्य नभए जुनसुकै बेला पार्टी फूटको तहमा पुग्ने आजको घटनाले संकेत दिएको छ । धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा आज आयोजित अधिवेशनमा अध्यक्ष लिङ्देन प्रमुख अतिथि थिए । तर, राणा पक्षधर युवाहरूले नाराबाजी गरेपछि झडपको स्थिति बन्यो । युवाहरू कुटाकुटमै उत्रिए । यो घटनाले आन्तरिक द्वन्द्व त छताछुल्ल भयो नै, शक्ति संघर्षको नयाँ होड पनि देखिएको छ । 

अधिवेशनमा घमासान हुने सूचना पाएपछि बिहानैदेखि ब्यांक्वेट परिसरमा दर्जनौँ प्रहरी खटिएका थिए । तर, प्रहरीलाई सम्भावित झडपबारे कसरी थाहा भयो होला ? लिङ्देन र राणा समूहले नै झडपको सूचना दिएको परस्पर समूहको आरोप छ ।

एक उच्च प्रहरी अधिकृतका अनुसार अधिवेशनमा झडप हुन्छ भन्नेमा दुवै समूह पहिल्यै ढुक्क थिए । र, उनीहरुले आफ्नो अनुकूल हुनेगरी समन्वय गरिदिन प्रहरीलाई छुट्टाछुट्टै आग्रहसमेत गरेका थिए । यद्यपि, आफूहरूले व्यावसायिक हिसाबले काम गरेको र झडप साम्य बनाएको प्रहरी अधिकारी बताउँछन् । 

‘दुई वटा गुटका नेताबाटै हामीलाई आफ्नो फेभरमा छुट्टाछुट्टै सूचना आइसकेको थियो कि कार्यक्रममा पक्का झगडा हुन्छ’, उनी भन्छन्, ‘हामीले जति प्रहरी चाहिन्छ, तैनाथ गरियोस् भनेर निर्देशन सर्कुलेट गरेका थियौँ ।’ ती अधिकृतका अनुसार आजको घटना नियोजित हो । पार्टीका शीर्ष नेताको आडमा आफूलाई नै ठूलो शक्ति प्रमाणित गर्न दुवै समूहका युवाले पाखुराको बल देखाउन खोजेपछि झडप निम्तिएको प्रहरीको विश्लेषण छ । 

राप्रपाका नेताहरूले अधिवेशनमा वाह्य घुसपैठ भएको जिकिर गरेपनि सुरक्षामा खटिएका ति प्रहरी अधिकृत भने त्यस्तो ठान्दैनन् । ‘युवाहरू नेताको निर्देशनमै शक्ति प्रदर्शनमा उत्रिएका हुन्, त्यसमा को पार्टीका मान्छे हुन्, को आयातित गुण्डा हुन्, हामीलाई थाहा हुने कुरा भएन’, उनले भने । 

यता अध्यक्ष लिङ्देनले भने आफू अधिवेशन उद्घाटनको लागि कार्यक्रममा पुग्नुअघि नै मञ्च कब्जा भइसकेको दावी गरेका छन् । धवल समशेर राणा निकट भनिएका ज्योती लामाहरूले हुलदंगा गरेको उनको आरोप छ । 

राणा पक्षधरका युवालाई ‘फाल्टु’को संज्ञा दिँदै उनले जनआस्थासँग भने, ‘म कार्यक्रममा पुग्नुअघि नै फाल्टुहरुले कब्जा गरिसकेका थिए, म पुगेर कार्यक्रम सुरु भइसकेको छैन पछि बोल्नुहोला भनेपछि उनीहरुले गुण्डागर्दी शैली देखाए ।’ 

झडपमा सहभागी कतिपय युवाहरु पार्टी बाहिरका मान्छे हुनसक्ने लिङ्देनको आशंका छ । छानबिनको क्रममा सबैकुरा पत्ता लाग्ने उनले बताए । महामन्त्री राणा भने अध्यक्ष लिङ्देनको तर्कसँग सहमत छैनन् । अध्यक्षकै नेतृत्वमा एउटा समूहले जबरजस्ती गरेपछि ज्योती लामाहरू प्रतिरोधमा उत्रनुपरेको उनले दावी गरे ।

‘म त कार्यक्रममा गइँन, तर त्यहाँ कोही फाल्टु गएका छैनन्’, राणाले भने, ‘हात हालाहालको घटना राम्रो होइन, तर पार्टी नेतृत्वको ठाडो निर्देशनमा त्यो वातावरण सिर्जना गरिएको हो ।’
बताइएअनुसार अध्यक्ष लिङ्देनको समर्थन पाएका अमित ठकुरी पुनः अध्यक्षमा दोहोरिने प्रयासमा छन् भने ज्योतीलाई उपाध्यक्ष विक्रम पाण्डेको साथ छ । अध्यक्षकै सामुन्ने कार्यकर्ताबीच कुटाकुट चलेपछि राप्रपामा हलचल मच्चिएको छ । अभिनेत्री तथा नेत्री रेखा थापाले विशेष महाधिवेशन बोलाउन माग गरेकी छन् । 

झडपको घटना सार्वजनिक भएपछि उनले लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै भनेकी छन्, ‘पार्टीभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र ?’ राप्रपामा लिङ्देनको कार्यशैलीलाई लिएर ठूलोपंक्ति असन्तुष्ट छ । उनी अध्यक्ष निर्वाचित भएको केही महिनादेखि शुरु भएको अन्तरकलह पछिल्लो पटक दर्बार निकट भनिएका नेताहरुलाई छानीछानी जिम्मेवारीमुक्त गरिएपछि थप चर्किएको हो । 

लिङ्देनले हालै नवराज सुवेदीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष र सगुनसुन्दर लावतीलाई पार्टी प्रवक्ताबाट हटाएका थिए । उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पार्टीबाटै निकालेका उनले जिल्ला अधिवेशनका लागि प्रतिनिधि तोक्दा एकलौटी गरे । यो सबै घटनाले राणा समूह आक्रोशित छ । 

धवलले ती निर्णयहरु सच्याउन आग्रह गर्दै अघिल्लो हप्ता लिङ्देनलाई पत्र पठाएका थिए । तर, अध्यक्षले जवाफ नदिएपछि भावी रणनीति बनाउन सो समूहका नेताहरुले हात्तिसारस्थित नेपाल हाउसमा छुट्टै भेला गरे  । 

उक्त भेलाले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेको थियो । त्यसमा पनि लिङ्देनले जवाफ दिन आवश्यक ठानेनन् । बरू आफू निकट केन्द्रीय सदस्यहरूको छुट्टै बैठक राखेका उनले पेलेरै अघि जाने संकेत देखाएका छन् । यसले राप्रपामा शक्ति संघर्ष पेचिलो बनेको देखिन्छ ।

टिप्पणीहरू