कृषि प्रजननमा एआईको प्रयोग

कृषि प्रजननमा एआईको प्रयोग

चिनियाँ वैज्ञानिकहरूले कृषि प्रजनन क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने लक्ष्य राखेका छन् ।  पूर्ण–प्रक्रिया प्रजनन् सञ्चालन गर्न सक्षम विश्वको पहिलो रोबोट जिईएआईआर त्यसैको लागि विकास गरिएको बताइएको छ ।

उक्त रोबोटले जैविक प्रविधि र कृत्रिम बौद्धिकता बीचको गहिरो समन्वयलाई स्पष्ट रूपले देखाएको छ । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको आनुवंशिकी तथा विकास जीवविज्ञान संस्थानद्वारा विकसित एआईमा आधारित रोबोटले परम्परागत अनुभवमा आधारित प्रजनन प्रक्रियालाई सटिक कृषिमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । 

हरितगृहमा गरिएको परीक्षणमा फूलहरूको सही पहिचान गर्दै हाइब्रिड परागकणको सम्पूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताइन्छ । रोबोटिक हातहरूको प्रयोग गर्दै यसले फूलहरूबीच प्रभावकारी रूपमा सर्ने र क्रस–परागकणलाई उच्च सटिकताका साथ सञ्चालनको क्षमता देखाएको छ ।

विशेषगरी भटमासजस्ता बालीमा यो प्रविधिले उत्पादनमा उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ । यसको प्रयोगले बालीहरूको छिटो र कम लागतमा प्रजनन सम्भावना देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यो परियोजनालाई चीनको बुद्धिमान रोबटोटाइज हाइब्रिड प्रजनन प्रविधि प्रणाली निर्माणमा एक महत्वपूर्ण कोशेढुंगाको रूपमा लिइएको छ । जसबाट ‘विज्ञानका लागि एआई’ को प्रयोगले कृषि क्षेत्र नयाँ उचाइमा पुग्ने संकेत देखिएको छ ।

टिप्पणीहरू