रास्वपाको टिकट हात पार्न अनेक दाउ
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न आवेदन दिएका सुलभ खरेलले टिकट हात पार्न वैकल्पिक उपाय अपनाएको चर्चा छ । उम्मेदवारी चयनमा पारदर्शिता अपनाउने भन्दै रास्वपाले लोकसेवा आयोगको शैलीमा मापदण्ड तोकेर खुला दरखास्त आह्वान गरेको थियो । त्यसमा खरेलसहित नौ जनाले आवेदन दिएपछि सबैलाई घण्टीघरमा बोलाएर नेतृत्वले छलफलसमेत गरिसकेको छ ।
तर, खरेलले भने टिकट हात पार्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहमार्फत रास्वपा नेतृत्वमाथि दबाब बढाएको समाचार स्रोत बताउँछ । जसअनुसार, पेशाले वकील उनले केही दिनअघि बालेन्द्रका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई भेटेका थिए । सोही भेटमा रास्वपा नेतृत्वलाई आफ्नो पक्षमा सन्देश पठाउन बालेन्द्रसँग कुरा गर्न आग्रह गरेको स्रोतको दाबी छ ।
अर्याललाई ‘गुरु’ मान्ने खरेलले बालेन्द्रमार्फत सन्देश गएमा आफूले टिकट पाउने निश्चित रहेको निकटस्थहरुसँग बताइसकेका छन् । चुनाव पक्का जित्ने दाबीसमेत गरेका खरेलसँग अर्यालले यसबारे सल्लाह गर्ने वचन दिएको मानिन्छ ।
अर्कोतर्फ टिकट नपाएको अवस्थामा स्वतन्त्र रुपमा उम्मेदवारी दिने मनस्थितिमा अर्याल रहेको दाबी गर्नेहरू पनि प्रशस्त छन् । स्रोत भन्छ, ‘रास्वपाले नौ जनासँग छलफल गरिसक्यो, अब उम्मेदवार घोषणा हुन बाँकी छ । यदि टिकट खरेलले पाए भने ठीकै छ, नत्र उहाँ (अर्याल) आफैं कस्सिने तयारीमा हुनुहुन्छ ।’
अधिवक्ता अर्यालले खरेलको प्रस्ताव बालेन्द्रसमक्ष राखे वा राखेनन् भन्ने खुलेको छैन । तर, मेयरका खाद्य सल्लाहकार सन्तोष गिरीले पनि उम्मेदवार बन्न चाहेको चर्चा छ । रास्वपाले सार्वजनिक गरेको उम्मेदवार सूचीको पहिलो नम्बरमा रहेका खरेल पहिल्यैदेखि पार्टी सभापति रवि लामिछाने निकट मानिन्छन् । कार्यवाहक सभापति डिपी अर्यालको समेत आफूलाई समर्थन रहेको उनले नै कतिपयलाई जानकारी दिएका थिए ।
सूचीको दोस्रो नम्बरमा रहेका पार्थिवेन्द्र उपाध्याय भने उपसभापति डा. स्वर्णिम वाग्लेका साथी हुन् । दुई जनाबीचको सम्बन्ध एक दशक लामो रहेको र क्याम्पस प्रमुखको जिम्मेवारीबाट राजीनामा दिएर रास्वपामा होमिएका उनले वाग्लेलाई खुशी पार्न कुनै कसर बाँकी नराखेको जानकारहरूको दाबी छ ।
यो पृष्ठभूमिमा खरेल र उपाध्ययमध्ये एक जनाले टिकट पाउने लगभग पक्का भइसकेको बताइन्छ । ‘पहिल्यै उम्मेदवार घोषणा गर्ने हो भने अरुले चासो देखाउँदैनन् । कम्तीमा दुई–चार जना भए पनि उम्मेदवार बन्ने बहानामा पार्टीमा भित्रिन्छन् । मापदण्ड, आवेदन, प्रक्रिया भन्ने फन्डा मात्रै हो । टिकट दुई जनामध्ये एक जनाले पाउँछ, यो ढुक्क छ,’ स्रोत थप्छ ।
टिप्पणीहरू