कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई स्वीकृति दिनेगरी कानून नबनाइने स्पष्ट पार्नुभएको छ । सरकारले त्यस्तो कानुन ल्याउन लागेको भन्दै भ्रम फिँजाइएको उहाँले गुनासो गर्नुभयो ।

मुलुकी संहीता दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमले यस्तो टिप्पणी गर्नुभएको हो । यसबारे आफूले संसदमा पनि स्पष्ट पारिसकेको बताउँदै उहाँले प्रतिगमनकारी कानून सरकारले नल्याउने प्रतिवद्धता जनाउनुभयो ।

बहुविवाहलाई मान्यता दिनेकुरा आजको समाजले स्वीकार गर्नै नसक्ने प्रधानमन्त्रीको भनाइ छ । यस किसिमका भ्रमको पछि नलाग्न पनि उहाँले आग्रह गर्नुभयो । 

‘एउटा नचाहिँदो हल्ला धुमधाम चलेको छ । बहुविवाह गर्न स्वीकृति दिने भए । सरकारले स्वीकृति दिने भयो, संसदमा ल्याउने भए, पास हुने भयो भनेर हल्ला गरिएको छ’, उहाँले भन्नुभयो, ‘बहुविवाहलाई मान्यता आजको समाजले दिन्छ भन्नेकुरा नै सोच्न सक्ने कुरै होइन । एक जना अभियन्ता आउनुभयो मसँग कुरा गर्न । बढो चर्को स्वरमा भन्नुभयो । हेर्नुस्, बहुविवाह हामी कुनै हालतमा मान्दैनौँ भन्नुभयो । कसले गर्न लागेछ ? भनेँ ।’

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमन हुन नसक्ने स्पष्ट पार्नुभयो । सरकारले प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा नपठाउने बताउनुभयो ।
 

टिप्पणीहरू