देउवालाई अफ्ठ्यारोमा पार्नेहरू

देउवालाई अफ्ठ्यारोमा पार्नेहरू

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय आफ्नै नेता कार्यकर्ताको चेपुवामा पर्दै आएको देखिन्छ । पार्टीमा सामूहिक तस्बिर खिचेर प्रवेश गराएका कार्यकर्तानै आपराधिक पृष्ठभूमिका व्यक्ति भएपछि देउवाको सर्वत्र आलोचना भएको छ ।

सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या प्रकरणमा फरार सूचीमा रहेका व्यक्तिलाई पार्टी मुख्यालयमा धुमधामका साथ देउवाकै हातबाट टीका लगाएर भित्र्याएको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव रहेका असई बिकका हत्या आरोपी देवेन्द्र यादवलाई सभापति देउवाले पार्टी सानेपामै खादा ओढाएर पार्टी सदस्यता दिएका थिए ।

तर जघन्य अपराधमा संलग्न भएको आरोप लागेका यादवलाई सभापति देउवाबाटै संरक्षण भएको भन्दै बाहिर मात्र होइन, पार्टीभित्रै चर्को आलोचना भयो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक विरोधपछि कांग्रेसले यसबारे चासो राख्यो । र यादवमाथि फौजदारी कानुनी प्रक्रिया रहेको थाहा पाएपछि शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयले बाध्य भएर उनको सदस्यता खारेजीको घोषणा गरेको हो ।

सदस्यता खारेज भएपनि नेता कार्यकर्ताले चित्त बुझाउन नपाउँदै फेरि पार्टी सभापतिकै आशीर्वाद पाएर काठमाडौंमा गुण्डागर्दी गर्ने देउवानिकट भन्ने गरिएका राजु गोर्खाली पक्राउ परे । यसले फेरि सभापतिमाथि अपजसको सम्भावना बढायो ।

बागमती प्रदेश सरकारभित्र आन्तरिक कलह उत्पन्न गराएर समाधान गर्न नसकेका सभापतिमाथि एकपछि अर्को राजनीतिक बाँण सोझिने कार्य तीव्र गतिमा अगाडि बढेको छ । प्रदेश सरकारको किचलोमा सहमतिको आश्वासन दिएर विश्वासको मत दिन लगाएपछि देउवाकै विश्वास गुमेको भन्दै प्रदेश सभा सदस्यले गुनासो गरिरहेकै अवस्थामा यादवलाई पार्टी सदस्यता दिने, राजु गोर्खाली पक्राउ पर्ने कार्यले झन् आलोचित बनाएको हो ।

आफूलाई शेरबहादुरको राइट ह्यान्ड बताउने गोर्खालीले कांग्रेसको २०७८ सालमा भएको १४औँ महाधिवेशनमा काठमाडौंबाट सिन्धुपाल्चोकमा क्रियाशील सदस्यता सारेका थिए । सिन्धुपाल्चोक कांग्रेसमा मोहन बहादुर बस्नेतलाई साइजमा ल्याउन पार्टी नेतृत्वले गोर्खालीलाई सिन्धुपाल्चोक पठाएको चर्चा त्यतिबेला चलेको थियो ।

आफ्नो पार्टी सदस्यता सिन्धुपाल्चोक सारेपछि गोर्खाली बस्नेतविरुद्ध लागिपरेका उनै गोर्खाली अन्ततः पक्राउ परेका छन् । उनलाई काठमाडौं प्रहरी परिसरको विशेष टोलीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो । आपराधिक कार्यमा लागेकालाई अनावश्यक संरक्षणले पार्टीभित्र देउवाविरुद्ध ठूलो बहस शुरु भएको एक केन्द्रीय सदस्यले बताए ।

टिप्पणीहरू