यसकारण मास्क लगाएर विमानस्थलबाट बाहिरिइन् अभिनेत्री
वि.सं. ६० को दशककी चर्चित अभिनेत्री निरुता सिंह नेपाल आएकी छन् । मुम्बई बस्दै आएकी उनी ३६ को आकडा चलचित्रमा अभिनय गर्न हिजो (आइतबार) साँझ काठमाडौं आएकी हुन् । उनलाई स्वागत गर्न चलचित्रका निर्देशक सविर श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
तर एउटा रोचक कुरा के छ भने, निरुताको आगमनसँगै दुई कलाकारको प्रेम सम्बन्धको पोल खुलेको छ । अभिनेता सलिनमान बानियाँ र पूर्व मिस नेपालसमेत रहेकी अभिनेत्री नम्रता श्रेष्ठ प्रेम सम्बन्धमा रहेको पाइएको हो । बताइएअनुसार, नम्रता पनि हिजो भारतबाट आएकी थिइन्, र उनलाई लिन सलिनमान विमानस्थल पुगेका थिए । दुवै जनाले मास्क लगाएर मिडियाबाट लुक्ने प्रयास गरे पनि उनीहरू क्यामेरामा कैद भएका हुन् ।
‘ए मेरो हजुर २’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका सलिनमान व्यवसायी समेत हुन् । सलोन बस्नेतका घनिष्ठ साथी रहेका उनी र नम्रता रंगी छायाँकनको क्रममा नजिक भएका बताइन्छ । उक्त चलचित्र सलोनले नै निर्माण गरेका हुन् । चलचित्रमा सलिनमानको कुनै अभिनय नरहे पनि छायाँकन अवधिभर सलिनमानले नै नम्रतालाई घरसम्म लाने–ल्याउने गरेको निकटस्थहरूले बताएका छन् । दुई जनाबीच प्रेम सम्बन्ध रहेको चर्चा चले पनि ठोस आधार देखिएको थिएन । तर हिजो विमानस्थलमा दुई जनाको लुकाछिपीले उक्त चर्चालाई राम्रै बल पुरयाएको छ ।
सलिनमान यसअघि मेकअप आर्टिस्ट अस्प्रिना श्रेष्ठसँग लिभिङ टुगेदरमा थिए । उनले अस्प्रिनालाई गाडी उपहार दिएको विषयले चलचित्र वृत्तमा राम्रै चर्चा पाएको थियो ।
टिप्पणीहरू