जनार्दनलाई केन्द्रमा दबाब, जिल्लामा तनाव

जनार्दनलाई केन्द्रमा दबाब, जिल्लामा तनाव

केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्व विरुद्ध बोलेकोमा आत्मआलोचनाको दबाब झेलेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ बैठक लगत्तै गृह जिल्लाका कार्यकर्तामाझ पुगेका छन् । रुकुम पश्चिममा उनले जिल्लाका माओवादी नेता–कार्यकर्ता आफ्नै पक्षमा एकताबद्ध रहेको देखाउन पार्टीमा हैसियतअनुसारका कार्यकर्तासँग अलग–अलग बैठक गरेका हुन् ।

प्रभाकर जिल्ला आउँदा प्रायः कार्यकर्ताबीचमा अन्तरक्रिया गरिहाल्छन् । तर यसपटकको छलफललाई भने अर्थपूर्ण रूपमा हेरिएको छ । माओवादीले चलाएको मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रुकुमको चौरजहारी पुगेका प्रचण्डले भनेका थिए, ‘मैले अहिलेसम्म कसैलाई अनुशासनको डण्डा चलाएको छैन, उपल्लो तहमा पुगेका रुकुमकै कतिपय नेताहरू पार्टी छोडेर गए, तर रुकुममा माओवादीको लहर कम भएन । कसैले पार्टी छोडेर जाँदैमा रुकुमका माओवादी कार्यकर्ता विचलित हुँदैनन् ।’ त्यतिबेला प्रचण्ड र प्रभाकरबीच गहिरो तिक्तता रहेको आकलन गरिएको थियो।

केन्द्रीय समिति बैठकमा आत्मआलोचनाको दबाबपछि रुकुम आएका प्रभाकरले जिल्लामा उपलब्ध केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका नेता–कार्यकर्तासँग छुट्टाछुट्टै बैठक बसेर छलफल गरेका छन् । पछिल्लो साता हरेक दिन जिल्ला सदरमुकाममा माओवादीका बैठक–छलफल भए ।

बैठकमा सहभागी माओवादी नेताका अनुसार सबै खाले छलफलमा पार्टीलाई एकढिक्का बनाउन, जनतामाझै लैजान मिहीन ढंगले छलफल भएको छ । जिल्लाका विभिन्न पालिकामा आम कार्यकर्ताका गुनासोहरूको सुनुवाइ भएको छ । तर प्रभाकरले सिंगो रुकुमेली माओवादी पंक्ति आफ्नै पकडमा राख्न कोशिश गरेको आकलन छ । यी बैठकहरूमा माओवादी प्रदेश कमिटीकी अध्यक्ष विमला केसीको उपस्थिति भने भएन । विमला रुकुमकै नै हुनुहुन्छ ।

प्रभाकरले पालिका स्तरमा समेत अगुवा कार्यकर्तासँग अन्तरक्रिया गरेका छन् । यस क्रममा पार्टीबाट स्थानीय सरकारमा गएका माओवादी नेताहरूको कार्यशैली, बिलासिता, पार्टीको निर्देशनको अवज्ञालगायत बारेमा छलफल भएको बताइन्छ । प्रभाकरको निर्देशनमा पालिका तहमा भएका विवादहरू समाधान गरिएको बताइएको छ । स्थानीय सरकारसमक्ष सर्वसाधारणसँगै माओवादी कार्यकर्ताका अनेकन गुनासोहरू सुनेर प्रभाकरले उत्पादन, आर्थिक क्रान्ति, समाजवाद निर्माणको बाटो नबिर्सन सचेत गराएका छन्।

रास्वपा टाउको दुखाइ बन्दै

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लामा चलमलाउन थालेपछि जिल्लामा राज गरेको माओवादीको टाउको दुखाइ बनेको छ । प्रभाकर जिल्ला आएकै बेला रास्वपाले धमाधम पालिका भेला सम्पन्न गरेको छ । छवटै पालिकामा कमिटी गठन गरेको छ । भेलामार्फत राजनीतिमा नयाँ सन्देश दिनेगरी युवा पंक्तिहरु सम्मिलित पालिका कमिटी गठन भएका छन्।

रास्वपामा समेटिएका अधिकांश व्यक्तिहरु माओवादीकै कार्यकर्ता हुन्। कुनै बेला माओवादीका केन्द्रीय नेतृत्वसँग नजिक रहेका इन्जिनियर मानबहादुर शाही र रिमप्रसाद शर्मा ‘हिमाल’ अहिले रास्वपाको जिल्ला सभापति र उपसभापति छन्। उनीहरूले रुकुम पश्चिम घण्टीमय बन्दै गएको र युवाहरूको लहर आएको दाबी गरिरहेका छन्।

पालिका कमिटीहरूमा माओवादीका कार्यकर्ताहरू नै अग्रभागमा बस्न थालेपछि माओवादीको थप टाउको दुखाइ बन्न थालेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा वडादेखि संघसम्म कब्जा जमाएको माओवादीलाई गत निर्वाचनमा धक्का लागेको थियो। कांग्रेस र एमाले मिलेर मुसिकोट र बाँफिकोटको नेतृत्व हुत्याएका थिए। ०८४ मा फेरि माओवादीमय रुकुम बनाएर केन्द्रमा समेत सन्देश दिन चाहेका प्रभाकरलाई यसपटक पनि कांग्रेस–एमालेको गठबन्धन र रास्वपाको सक्रियताले तनाव दिएको बताइन्छ।

टिप्पणीहरू