केही दिनलाई रोकियो उपसभामुख हटाउने प्रस्ताव
फाइल फोटो
सत्तारुढ एमाले र नेपाली कांग्रेसको गठबन्धनले आकस्मिक रुपमा दर्ता गर्न लागेको उपसभामुख इन्दिरा रानाविरुद्धको प्रस्ताव तत्काललाई रोकिएको छ । उनीहरुले आ–आफ्नो संसदीय दलको बैठक बोलाएर सांसदहरुलाई हस्ताक्षर गराउने क्रम जारी राखे पनि हटाउने प्रस्ताव तुरुन्तै संसदमा दर्ता नहुने भएको छ ।
आज दर्ता गर्ने भनिएको प्रस्ताव अब भदौ १३ गते शुक्रबार मात्रै दर्ता गर्न लागिएको छ । दर्ता भएको एक साताभित्र प्रस्ताव टुंग्याउनुपर्ने तर अहिले उपसभामुख अमेरिकामा रहेका कारण अर्को साताको अन्तमा मात्रै दर्ता गर्ने तयारी छ । स्रोतका अनुसार १३ गते दर्ता गराएर १९ गते निर्णयार्थ प्रस्तुत गर्ने मोटामोटी सहमति भएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौला र काँग्रेसका श्याम घिमिरेले हस्ताक्षर संकलन गरे पनि तत्काल प्रस्ताव दर्ता नगर्ने सांसदहरुलाई जानकारी गराएका छन् । उपसभामुख यहाँ नभएको समयमा कानुनी,संसदीय र प्रशासनिक झमेला व्यहोर्न नपरोस् भन्ने उद्देश्यले उनीहरुले प्रस्ताव दर्ताको समयलाई केही पर धकेल्ने निर्णय गरेको बुझिएको छ ।
हिजो साँझ बालुवाटारमा भेला भएका सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच उपसभामुख रानालाई हटाउनेबारे छलफल भएबमोजिम अन्य दलका सांसदहरुलाई पनि हस्ताक्षर संकलनमा आउनभनिएको थियो । त्यसैले बिहानदेखि खाली पानामा हस्ताक्षर गर्न लगाइएको हो ।
टिप्पणीहरू