रविलाई जेलको कोठा बाहिर बस्न सल्लाह

रविलाई जेलको कोठा बाहिर बस्न सल्लाह

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई घाममा बस्न सल्लाह दिइएको छ । उनलाई भिटामिन–डी को कमी भएको जनाउँदै चिकित्सकहरुले भोजनमा ध्यान दिन र घाम लागेको बेलामा कोठा बाहिर बस्न सुझाव दिएको बताइन्छ । 

सहकारी ठगी प्रकरणमा गत वर्ष चैत २५ गतेदेखि पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार भैरहवा कारागारबाट नख्खु कारागार ल्याइएको छ । कारगार स्थान्तरण भएपछि कैदीको अनिवार्य स्वास्थ्य परिक्षण गर्नुपर्ने भएकाले हिजो लामिछानेको रगत, श्वास, रक्तचाप परिक्षण गरिएको थियो ।

कारगार प्रशासन स्रोतका अनुसार लामिछानेको स्वास्थ्य परिक्षणको लागि ट्रमा सेन्टरबाट चिकित्सकहरु नख्खु जेल नै पुगेका थिए । ‘हामीले ट्रामा सेन्टर र वीर अस्पतालसँग सहकार्य गरेर कैदीहरुको स्वास्थ्य परिक्षण गर्दै आएका छौँ’, ती कर्मचारीले भने, ‘उहाँ (लामिछाने)को पनि स्वास्थ्य परीक्षण पनि नियमित प्रक्रिया अन्तर्गत नै हो, त्यस्तो कुनै समस्या भएर परिक्षण गरिएको होइन ।’

लामिछानेको रगत परीक्षण गरेका चिकित्सकहरुले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । चिकित्सकको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘उहाँको रिपोर्ट सामान्य छ, उता (भैरहवा) सँधै कोठामा बस्नुभएको रहेछ । भिटामीन डी अलि कम भयो भन्ने छ अरु केही भएको देखिएन ।’

टिप्पणीहरू