कांग्रेस-एमालेको रणनीति असफल पार्न बरिष्ठ उपाध्यक्षको आह्वान
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा भूतपूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले संवैधानिक परिषद्मा बहुमत पुर्याउनका लागि नेपाली कांग्रेस र एमालेले उपसभामुख हटाउन लागेको दाबी गरेका छन् ।
उपसभामुख इन्दिरा रानालाई पदीय मर्यादा अनुकूल काम नगरेको आरोप लगाएर महाभियोग लगाएर पदमुक्त गर्ने प्रयासस्वरूप दुवै पार्टीले आज सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । यसप्रति टिप्पणी गर्दै उनले भने, 'यो घटनाले उनीहरूको निरंकुशता र दुरासयलाई नाङ्गो पारेको छ ।'
यो कदम उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभएर आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका लागि आधार तयार पार्न संवैधानिक परिषदमा बहुमत जुटाउनका लागि चालिएको हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग रहेको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए । तर, यस्ता कदमले देशलाई संकटमा पुर्याउने भन्दै उनले कांग्रेस-एमालेको रणनीति असफल पार्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
'दशकौँ लामो बलिदानीपूर्ण संघर्षद्धारा प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न चाहाने सबैले तात्कालिक निहित स्वार्थभन्दा माथि उठेर यस्तो यस प्रकारको गलत कार्यलाई असफल पार्न एकजुट हुनुपर्ने आवश्यकता छ', उनले भनेका छन् ।
सत्तापक्षले उपसभामुख हटाउने तयारी थालेपछि काउन्टर रणनीति बनाउन दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकले सडक र सदनबाट सशक्त प्रतिवाद गरेर जाने निर्णय गरेको छ ।
सरकारमा रहेका पार्टीहरुले चालेको यो कदमको घोर भर्त्सना गर्दै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसलाई असफल पार्न सम्बन्धित सबैलाई बैठकले आह्वान गरेको जानकारी दिएका छन् ।
टिप्पणीहरू