घरगाउँमै सपना देखेका यी डाक्टरको विपनामा चीनको धाप
दैनिक १५ सयदेखि दुई हजार बिरामीको चाप हुन्छ, धुलिखेल अस्पतालमा । तीमध्ये डेढ सय बिरामी मुटु सम्बन्धी रोगका हुने गरेका छन् । कोही दुर्गम भेगबाट आएका, कोही सुगम शहरबाट । मुटु छाम्दै अस्पताल आउनेहरुको ओठमा झुण्डिएको हुन्छ एउटा नाम– डा. कोजु ।
वरिष्ठ कार्डियोलिजिष्ट डा. राजेन्द्र कोजु उनै हुन्, जसले हजारौँ मुटुहरुको भल्भ, धमनी र शिरालाई नजिकबाट नियालेका छन् । मुटुको अन्तरकुन्तरलाई छामेका छन्, र बुझेका छन् मुटुको अपरिभाषित आयाम !
डा. कोजु २०५२ सालमा स्थापना भएको उक्त अस्पतालको संस्थापक मध्येका एक हुन् । सामान्य बिरामीको चेकजाँच हुने सामुदायिक अस्पताललाई जटिल समस्याको समेत उपचार हुने र चिकित्सक उत्पादन गर्नेगरी शिक्षण अस्पताल बनाउनेसम्मको श्रेय उनै कोजुलाई जान्छ ।
अस्पताल स्थापनाकालमा मुटुका सामान्य बिरामीलाई पनि काठमाडौँको शहिद गंगालाल हृदय रोग केन्द्रमा पठाउनुपथ्र्याे । त्यसले कोजुलाई लाग्थ्यो– बिरामीलाई अन्यत्रै पठाउनु झन् बिरामी बनाउनु हो ।
त्यही विचारले उनलाई मुटुका जटिल बिरामीहरूको धुलिखेल अस्पतालमै उपचार सम्भव गराउन सफल बनायो । कोजुले यतिसम्म गरे कि सोही अस्पतालमै मुटुको शल्यक्रिया गर्ने वातावरण बनाउन तत्कालीन मेडिकल अफिसर सञ्जय हुमागाईंलाई थप अध्ययनका लागि चीन पठाए । अहिले हुमागाईं फर्किएर कोजुसँगै छन् ।
‘पहिले पहिले अस्पताल आएका बिरामीलाई गंगालाल पठाउनुपथ्र्याे’, कोजु सम्झन्छन्, ‘अहिले त्यो वातावरणको अन्त्य भएको छ, चार जना कार्डियोलोजिस्ट छौँ, सर्जनहरू पनि हुनुहुन्छ, जम्मा दुइ सय डाक्टर छन् ।’
कोजुको प्रयासलाई अहिले हुमागाईंसहित डा. सूर्यराज पाठक र डा. निशान भट्टराईले साथ दिएका छन् । सर्जन डा. रविन कर्माचार्य र बाल सर्जन डा. अनिश जोशीले कोजुको प्रयासलाई थप अर्थ दिएको देखिन्छ ।
उनकै प्रयासमा अहिले मुटुसम्बन्धी बिरामीहरुको सहुलियत शुल्कमा उपचार भइरहेको छ । अन्य अस्पतालमा दुई लाखसम्म खर्च हुने शल्यक्रिया धुलिखेल अस्पतालमा ७५ हजारदेखि एक लाखमै सम्भव बनेको छ । यसलाई अझै सहुलियतपूर्ण बनाउँदै लैजाने कोजुको योजना छ । भन्छन्, ‘बिरामीको उपचार नै हाम्रो पहिलो धर्म हो, र यही नै कर्म पनि ।’
टिप्पणीहरू