सत्तातर्फको कुर्सीमा बस्न रहर गर्दै सभामुखलाई पत्र

सत्तातर्फको कुर्सीमा बस्न रहर गर्दै सभामुखलाई पत्र

सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सत्ता गठबन्धनको बैठकमा सहभागिता जनाउने गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्ता पक्षमै बस्ने रहर गरेको छ । 

अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधि सभामा सत्तापक्षको लहरमा बस्ने व्यवस्थापन मिलाइदिन आज सभामुख देवराज घिमिरेलाई पत्र लेखेकी छन् । आजको बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले यो कुरा जानकारी गराएका हुन् । 

गत असार २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ प्रतिपक्षीको लहरमा बसेकाे नाउपाले डेढ महिनामै निर्णय बदलेको हो । त्यसो त पती-पत्नीको घर झगडाले यो पार्टी आफैँ आन्तरिक किचलोमा फसेको छ । 

संरक्षक रेशम चौधरी पक्षले बहुमत केन्द्रीय सदस्यको भेला बोलाएर रञ्जितालाई अध्यक्षबाट बर्खास्त गरेकोमा निर्वाचन आयोगले मान्यता नदिएपछि उनी पुनर्बहाली भएकी छन् । प्राविधिक हिसाबले मात्र अध्यक्ष रहेकी उनको यो निर्णयले नाउपामा थप किचलो चर्किने देखिन्छ ।

नाउपाको आन्तरिक विवादलाई सत्ताधारी ठूला दलले पनि आफू अनुकूल प्रयोग गर्ने गरेको पाइन्छ । जस्तो, नाउपाबाट सरकारमा सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले एक महिना पहिले नै राजीनामा दिएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म उनको राजीनामा स्वीकृत गरेका छैनन् । 

रञ्जिताले सत्ता पक्षमा बस्ने निर्णय गरेसँग चौधरीले पनि राजीनामा फिर्ता लिनसक्ने अनुमान छ ।
 

टिप्पणीहरू