लिङ्देनका पिएद्वारा कुटिएका राप्रपा कार्यकर्ता अनसन बस्ने

लिङ्देनका पिएद्वारा कुटिएका राप्रपा कार्यकर्ता अनसन बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतद्वारा कुटिएका राजु गैरे अनसन बस्न लागेका छन् । 

राजनीतिक संरक्षणमा आफूमाथि अन्याय भएको बताउँदै उनले भदौ १० गतेदेखि आमरण अनसन बस्ने निधो गरेका हुन् । अध्यक्ष लिङ्देनको उक्साहटमा आफूमाथि आक्रमण भएको गैरेको दाबी छ ।   

गत साउन १४ गते काठमाडौँको एक रेष्टुरेन्टमा कडायतले गैरेलाई कुटेका थिए । गैरेको टाउकोमा हेल्मेटले हानेको सिसिटिभी फुटेज सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । तर, यत्रो  प्रमाण बाहिर आइसक्दा पनि प्रहरीले जाहेरी लिन नमानेको उनको गुनासो छ । 

किटानी जाहेरी लिन नमानेको प्रहरीले राजनीतिक आडमा मिलापत्र गर्न दबाब दिइरहेको उनले बताएका छन् । यसमा लिङ्देनको भूमिका रहेको उनको ठम्याई छ । 

'अध्यक्षको स्वकिय सचिवजस्तो व्यक्तिले कुट्नु र अध्यक्षले कार्वाही गर्न त परै जावस् उल्टै बढिगाडको रुपमा लिएर हिँड्नुले प्रष्ट हुन्छ यो अध्यक्षकै निर्देशनमा भएको हो र गर्न लगाइएको हो', गैरेको गुनासो छ ।  

गैरे ०७९ को निर्वाचनमा राप्रपाबाट प्रदेश सभा सदस्यको उम्मेद्वार थिए । राप्रपाले लिङ्देनविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेखेर अनुशासनहीन काम गरेको आरोप उनीमाथि थोपरेको छ ।

टिप्पणीहरू