लिपुलेकबारे चीन र भारतको सहमतिविरुद्ध काठमाडौँमा प्रदर्शन

लिपुलेकबारे चीन र भारतको सहमतिविरुद्ध काठमाडौँमा प्रदर्शन

नेपाललाई वेवास्ता गरेर चीन र भारतले लिपुलेक नाका प्रयोगबारे गरेको सम्झौताविरुद्ध विद्यार्थीहरू सडकमा ओर्लिएका छन् । 

धर्मेन्द्र बाँस्तोला 'कन्चन' नेतृत्वको नेकपा बहुमतनिकट विद्यार्थी संगठनले आज साँझ माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । नेपाली भूमि लिपुलेकमाथि अतिक्रमण गर्ने भारतीय र चिनियाँ हस्तक्षेपकारी निर्णयको विरुद्ध प्रदर्शन आयोजना गरेको सो संगठनले जानकारी दिएको छ । 

नेपालको झण्डा, व्यानर र प्लेकार्ड लिएर सडकमा उत्रिएका बहुमतका विद्यार्थीले सरकारविरुद्ध चर्को नाराबाजी गरे । प्रदर्शनमा अखिल (क्रन्तिकारि)का अध्यक्ष वीरेन्द्र शाह, उपाध्यक्ष रुपा बुढा मगर, महासचिव उषाकिरण आजात, सचिव, डिबी शाहीलगायत उपस्थित छन् । 

प्रदर्शनकारीले 'राष्ट्रिय स्वाधीनताको रक्षा गरौं', 'लम्पसारवाददी दलालहरू होसियार', 'नेपाली जनता र भूभागको रक्षा गरौं', 'प्रधानमन्त्रीको भारत भ्रमण रद्द गरौं', 'दलाल केपी सरकार मूर्दावाद', 'भारतीय सेना कालापानी छोड' लेखिएका प्लेकार्ड देखाएका छन् । 

लिपुलेक नेपाल, चीन र भारतको त्रिदेशीय विन्दु हो । तर, चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशले उक्त नाकालाई प्रयोग गरी व्यापार विस्तार गर्ने सहमति गरेका छन् । 

यसअघि पनि दुवै देशले यस्तो सहमति गर्दा नेपालले विरोध जनाएको थियो । यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ र दिल्ली भ्रमणको पूर्वसन्ध्यामा भएको यो सहमतिप्रति नेपाल सरकारले औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

टिप्पणीहरू