संघीय संसदको दुबै सदनको बैठकमा मन्त्रीहरुले जवाफ दिँदै

संघीय संसदको दुबै सदनको बैठकमा मन्त्रीहरुले जवाफ दिँदै

आज संघीय संसद्का दुवै सदनको बैठक डाकिएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १२ बजे बस्दै छ ।

प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गरी पारित गर्ने कार्यसूची छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ दफावार छलफलका लागि समितिमा पठाउने र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

आजको बैठकमा गृह, श्रम, युवा तथा खेलकुद र वन मन्त्रीले सांसदहरुको जिज्ञासाको जवाफ दिने बताइएको छ । उता राष्ट्रियसभाको बैठकमा पनि गृह, उद्योग वाणिज्य तथा आपूर्ति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नबारे मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ ।

टिप्पणीहरू