कालापानी मामिलामा झलनाथ र बाबुरामको यौटै कुरा
डाक्टर बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले नेपाली भूमि लिपुलेकलाई व्यापारिक प्रयोजनार्थ नाकाको रुपमा सञ्चालन गर्ने चीन र भारतको सहमतिप्रति आपत्ति जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले त्रिदेशीय विन्दु लिपुलेकमा नेपालको सहमतिबिना दुई देशबीच भएको सम्झौताले भौगोलिक अखण्डताको उपेक्षा र अपमान गरेको जनाएको छ । सरकारको कृटनीतिक सक्रियता र दृढतामा देखिएको कमजोरीले राष्ट्रिय हितको संवेदनशीलता जटिल बन्दै गएको उसको निष्कर्ष छ ।
‘हाम्रो पार्टी यस मामलामा जोड दिन चाहन्छ कि, सीमा विवाद तथा संवेदनशील कूटनीतिक विषयहरूको समाधानका लागि नेपालले अझ प्रभावकारी, सशक्त र परिणाममुखी कूटनीतिक पहल गर्नुपर्छ’, प्रवक्ता कृष्ण शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै भारत–चीन–नेपालबिच समानता, आपसी सम्मान र परस्पर विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा निर्माण गर्नु जरुरी छ।’
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि चीन र भारतबीच भएको उक्त सम्झौताको विरोध गरेका छन् । यसले नेपालको अपमान भएको उनको ठहर छ ।
आज एक वक्तव्य जारी गर्दै खनालले लिपुलेक जोगाउन नेपाली नागरिक सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् ।
‘त्यो सम्झौताले नेपाली भूमिको अतिक्रमण मात्रै होइन, देशको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि गम्भीर थिचोमिचो भएको छ’, उनले भनेका छन्, ‘त्यसले देशभित्र र प्रवासमा रहेका नेपाली नागरिकको देशभक्तिपूर्ण भावनामाथि चोट पुगेको छ, र उनीहरु त्यो सम्झौताविरुद्ध सडकमा आउन बाध्य भएका छन् ।’
खनालले सीमा विवादको विषयमा सरकारले अनिवार्य बलियो कदम चाल्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका छन् । भनेका छन्, ‘नेपालका सबै भूभागहरु नेपालमै फर्काउन र अन्तराष्ट्रिय सिमानालाई स्थिर र विवादरहित बनाउन ऐतिहासिक पहलकदमी लिनुपर्छ, र यसमा नेपाल सरकारले नै त्यो कदम चाल्न जरुरी छ ।’
टिप्पणीहरू