माओवादी सांसद भन्छिन्: भारतसँग लड्न तयार छौँ
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका एक सांसदले नेपाली भूमिको रक्षाका लागि छिमेकी भारतसँग लड्न परे पनि तयार रहेको बताएकी छन् ।
लिपुलेकमा चीन-भारतबीच भएको व्यापार मार्ग खुलाउने सहमतिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय सभा सांसद रेणु चन्दले हात्तीरुपी भारतसँग लड्न कमिलारुपी नेपालीहरु तयार रहेको टिप्पणी गरिन् । यसबारे कुटनीतिक पहल गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराएकी छन् ।
सबै राष्ट्रिय शक्तिहरु मिलेर कुटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमका जनतालाई धेरै समस्या परिरहेको भन्दै सांसद चन्दले आफू जनयुद्धकालीन ट्रेनिङ प्राप्त व्यक्ति भएको पनि बताइन् ।
‘हामी हात्तीसँग लड्न परे पनि लडौँला । हात्तीसे लड्जायेगी चिटीकी टोली । तयारी गर्नुस् । कुटनैतिक पहल तपाईंहरुको पुग्दैन भने नडराउनु होला’, आजको संसद बैठकमा भनिन्, ‘म त जनयुद्ध लडेको मान्छे हुँ, ट्रेनिङ प्राप्त छु भन्ने पनि सरकारलाई जानकारी गराउन चाहन्छु । यद्यपि मैले यस्तो कुरा गर्दा आइज दुई दुई हात गरिहालौँ भन्न खोजेको होइन । मूल जरो त कुटनीतिक पहल नै हो ।’
सांसद चन्दले सीमा क्षेत्रमा नेपालीहरुको अवस्था नाजुक रहेकोतर्फ सरकारलाई सचेत गराएकी छन् ।
टिप्पणीहरू