रास्वपमा नेताको संरक्षण, कार्यकर्ता निलम्बन
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका रास्वपा बागमती प्रदेशका नेता हरिप्रसाद कँडेल निलम्बनमा परेका छन् ।
सहकारी काण्डमा जेल परेका सभापति रवि लामिछानेलाई जिम्मेवारीमुक्तसम्म नगरेको रास्वपाले कँडेललाई भने आरोप लाग्नासाथ पार्टीबाट निकालेको हो । सो पार्टीको केन्द्रीय अनुशासन आयोगले निज कँडेललाई कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको जनाएको छ ।
‘हाल आएका सूचनाहरूको आधारमा नेपाल सरकारको अद्यावधिक कानून विपरीतका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौं’, आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले लेखेको पत्रमा उल्लेख छ ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कँडेललाई हिजो चितवनबाट नियन्त्रणमा लिएको थियो । कालिका नगरपालिका-५ पदमपुर घर भएका उनी रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।
नेपाल र भारतका विभिन्न विश्वविद्यालयको नक्कली सर्टिफिकेट बनाएर बेच्ने काममा उनको संलग्नता फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले साउन ३० गते रुपन्देहीको बेलसिया बसपार्कबाट विभिन्न विश्वविद्यालयका सयौँ नक्कली ट्रान्सकिप्टसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो । ती भारतीयमाथि अनुसन्धान हुँदा उनले कँडेलका लागि काम गर्दै आएको बयान दिएपछि यस्तो खुलासा भएको हो ।
आफ्नो नामको अघि डाक्टर लेख्दै आएका कँडेल पूर्व शिक्षक तथा प्राधानाध्यापकसमेत हुन् । उनले पछिल्लो समय चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपाल’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएको बताइन्छ ।
वैदेशिक रोजगारीको लागि युरोप जानेहरुको लागि उनले नक्कली प्रमाण पत्र बनाइदिने गरेको बुझिन्छ ।
टिप्पणीहरू