भैरहवा एयरपोर्टबारे नयाँ दिल्लीमा छलफल

भैरहवा एयरपोर्टबारे नयाँ दिल्लीमा छलफल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा छलफल हुने जानकारी दिनुभएको छ ।

आज राष्ट्रिय सभा बैठकमा सांसद मायाप्रसाद शर्माले राखेको जिज्ञासाको जवाफ दिँदै उनले एयर रुटका विषयमा दिल्लीमा छलफल हुने बताएका हुन् । यस विषयलाई महत्वका साथ भ्रमणमा उठाउने र रुटका बारेमा स्पष्ट हुनेगरी वार्ता गर्ने मन्त्रीको दावी छ । 

‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको पूर्वसन्ध्यामा हामीले प्राप्त गर्नुपर्ने रुटका विषयमा बाहिर र भित्र आवागमन दुवैका लागि रुटहरु आवश्यक पर्दछ’, उहाँले भन्नुभयो, ‘केबल सिमरानेरको रुटमात्रै आउने जाने छ । यो विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रुटका बारेमा स्पष्ट हुने । भैरहवा विमानस्थललाई संसारभरका बुद्ध धर्मावलम्बीहरुलाई काठमाडौं नआइकनै आउन, जानसक्ने व्यवस्था मिलाउने गरी काम गरिरहेका छौँ ।’

भैरहवा र पोखरा विमानस्थल सुचारु गर्न वर्तमान सरकार बनेपछि क्याविनेटले कार्ययोजना पास गरेको पनि पाण्डेले बताउनुभयो । एयरपोर्ट चलायमान बनाउन भिसा सेन्टर, अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइनलगायत आवश्यक सबै संरचना निर्माण गर्नेगरी सरकार अघि बढिरहेको उहाँको भनाइ छ ।

मन्त्री पाण्डेले यसबारे क्रमशः सकारात्मक परिणाम देख्न सकिने जिकिर गर्नुभएको छ ।
 

टिप्पणीहरू