गृहमन्त्रीलाई पूर्व मन्त्रीको ध्यानाकर्षण
ताप्लेजुङको आठराई गाउँपालिका–२, फूलबारीका वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि दिनदहाडै कुटपिट भएको भन्दै नेकपा एमालेका सचिव तथा सोही जिल्लाका सांसद योगेश भट्टराईले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका छन् । एमाले ताप्लेजुङ जिल्ला कमिटी सदस्यसमेत रहेका सेन्दाङलाई हिजो पार्टी जिल्ला कमिटीको बैठक सकेर गाउँ फर्किने क्रममा केही व्यक्तिले आक्रमण गरेका थिए ।
आक्रमणकारीमाथि कारबाहीको माग गर्दै पूर्वमन्त्री भट्टराईले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका हुन् । घटनाको घोर निन्दा र भत्र्सना गर्दै आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार र कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
‘एउटा जनप्रतिनिधिलाई सदरमुकामको बिच बजारमा दिनदहाडै कुटपिट गरिएको घटनाले शान्ति सुरक्षामाथि गम्भीर चूनौती दिएको छ,’ भट्टराईको पत्रमा लेखिएको छ, ‘आक्रमणमा संलग्नहरुलाई तत्काल गिरफ्तार गरी कानूनी कारबाही गर्न तथा आम सर्वसाधारणको शान्ति सुरक्षामा खलल गर्ने अराजक गतिविधिमाथि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनको गम्भीर ध्यानाकर्षण गर्दछु ।’
उनले घाइते वडाध्यक्ष सेन्दाङको उपचार व्यवस्था मिलाउन पनि माग गरेका छन् ।
टिप्पणीहरू